पार्टी विभाजनले एमालेमा १० प्रतिशत नोक्सानीः नेता पाण्डे

पोखरा — नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी फुट्दा ५ देखि १० प्रतिशत नोक्सानी भएको बताएका छन् ।

कास्की एमालेले आज पोखरामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन पाण्डेले एकताको पक्षमा उभिरहेका बेला माधव नेपालसहितका नेताहरू पार्टी फोडेर जानु ठुलो गल्ती भएको बताए ।

नेता पाण्डेले प्रदेश २ मा अलि बढी क्षति भएको सुनिएको भए पनि आउने दिनमा मिलाउने गरी काम अगाडि बढेको बताए । उनले क्षति  पूर्ति गर्न अब काम गर्नुपर्नेमा जोड दिए ।

अबको ६ महिनामा स्थानीय तह र १४ महिनामा प्रदेश र स्थानीय तहको चुनाव हुने भन्दै उनले त्यसबेला पार्टीलाई मजबुत बनाउने गरी काम गर्नुपर्ने बताए ।

नेकपा एमाले सबैको साझा घर भएको र यही रहेरै अगाडि बढ्नु पर्ने नेता सुरेन्द्र पाण्डेको भनाई थियो ।