१४ सांसदलाई पदमुक्त नगरेसम्म संसद बैठक नचल्ने

काठमाडौँ : नेकपा एमालेले पार्टीको कारबाहीमा परेका १४ सांसदलाई पदमुक्त नगरेसम्म संसद बैठक चल्न नदिने बताएको छ। माधवकुमार नेपालसहित १४ सांसदमाथि गरेको कारबाहीको सूचना सभामुख अग्निप्रसाद सापकोटाले नटाँसेको भन्दै एमालेले संसदमा अवरोध गर्दै आएको छ।आजको बैठक पनि एमालेले चल्न नदिने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनले आज एमालेको संसदीय दलको बैठक नराखेको र सिधै सदनमा जाने बताए। सभामुख सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै एमालले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको हो । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने अडान लिएको छ।

बिज्ञापन

यदि सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने सर्तसहित मंगलबार पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको हो। एमालेले नेकपा एकीकृत समाजवमादीका अध्यक्ष बनिसकेका नेपालसहित १४ जना सांसदलाई पदमुक्त गरेर कारबाही गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता गरे पनि सभामुखले अल्झाइदिएका थिए ।

सभामुख सापकोटाले १३ दिनसम्म सूचना टाँस नगर्दा पार्टी विभाजन भएको कुरा एमालेले बताउँदै आएको छ। सभामुखले संवैधानिक र कानुनी रुपमा दिइएको पदीय जिम्मेवारी पूरा नगरेसम्म एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरिरहने भट्टराईले बताएका छन् ।