तालिबानले छात्रको लागि खोल्यो विद्यालय, छात्राबारे अनिर्णित

काठमाडौं । अफगानिस्तानमा शनिबारदेखि छात्रहरुका लागि विद्यालय खुला भएको छ । तालिबान सत्ताको शिक्षा मन्त्रालयले वक्तव्य जारी गरेर छात्रहरुका लागि विद्यालय खुलेको बताएको हो तर छात्राहरुका सम्बन्धमा भने उसले केही बोलेको छैन ।
छात्राहरु कहिलेदेखि विद्यालय जान सक्ने छन् भन्ने पनि खुलाइएको छैन । केही विद्यालयहरुमा ६ कक्षासम्म बालिकाले पनि अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै विश्वविद्यालय तहका छात्राहरु पनि अध्ययनका लागि जान पाउने तर त्यसका लागि भिन्दै कक्षा (छात्रहरुबाट अलग) को व्यवस्था गरिनुपर्ने तालिबानले यसअघि नै बताएको थियो । शनिबारदेखि छात्रहरु (हाइस्कूल तहका) विद्यालय जान पाउने व्यवस्था भए पनि छात्राहरु घरमै बस्न बाध्य भएका छन् ।

तालिबानले यसअघि आफूहरु २० वर्ष पहिले सत्तामा रहँदा जस्तो नरहेको, परिवर्तन भएको बताएको थियो । तालिबानका नेताहरुले महिलाहरुले काम गर्न पाउने र शिक्षामा रोकटोक नगरिएको वाचा गरेका थिए । तर महिला अधिकार र शिक्षालाई लिएर उसले गरिरहेका पछिल्ला गतिविधिहरु भने वाचाभन्दा विपरीत देखिएका छन् ।
तालिबानले अफगानिस्तानको महिला मन्त्रालय बन्द गरेर त्यसको ठाउँमा नैतिकतासम्बन्धी (सद्गुण र दुर्गुण) मन्त्रालय स्थापना गरेको छ ।
महिला मन्त्रालय खारेज गरेर स्थापित नैतिकतासम्बन्धी मन्त्रालयले सन् १९९६ देखि २००१ सम्मको तालिबान शासनका बेला कडा धार्मिक नियम लागू गरेको थियो । सो मन्त्रालयले त्यसबेला महिलामाथि कडा प्रतिबन्ध लागू गरेको थियो ।

बिज्ञापन

शुक्रबार तालिबानले महिला मन्त्रालय खारेज गरेर सद्गुण र दुर्गण निर्धारण गर्ने मन्त्रालय स्थापना गरेको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा महिला कर्मचारीहरु कार्यालय बाहिर रहेको र उनीहरुले तालिबानसँग आफूहरुलाई काममा फर्कन दिन आग्रह गरिरहेको देखिन्छ ।
पछिल्लो २० वर्ष अफगान महिलाहरुले निरन्तर कडा संघर्ष गरेर पाएका आधारभूत अधिकारहरु अहिले फेरि गुम्ने खतरा भएको छ । अगस्ट १५ मा अफगानिस्तानमाथि कब्जा गरेको तालिबान अहिले सत्तामा छ । उसले महिलाविरोधी विभिन्न निर्णयहरु गरिरहेको छ र त्यसको पछिल्लो घटनाका रुपमा मन्त्रालय नै बन्द गरिएको हो ।
तालिबानका नेताहरुले अफगानिस्तानमा धेरै परिवर्तन भएको र आफूहरु पनि परिमार्जन भएको बताउँदै आएका छन् । तर उनीहरुका गतिविधि र वाचाबीच तालमेल भने मिलेको छैन ।