एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तो झुट बोल्न सिपालु मान्छे नेपालमा अरु कोही नभएको  : प्रचण्ड

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तो झुट बोल्न सिपालु मान्छे नेपालमा अरु कोही नभएको बताएका छन् । सूर्यनाथ यादवको ३६औँ स्मृति दिवसका अवसरमा सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ओली झुटको पुलिन्दा भएको भन्दै आलोचना गरेका हुन्। आफ्नो माओवादी केन्द्र पनि बिस्तारै एमालेकरण हुन लागेको दोहोर्याउँदै प्रचण्डले एमाले अध्यक्ष ओलीप्रति कटाक्ष गरेका हुन्।

‘हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण हुन थाल्यो, एमाले जस्तो जस्तो, झुटमुट, बेइमानी, जालझेल, ठगठाग, भ्रष्टाचार, पद जसरी पनि प्राप्त गर्ने, गुटैगुट एमाले भन्या त्यही हो’, प्रचण्डले भने, ‘केपी ओली छन् नि झुट बोल्न, त्यत्तिको सिपालु मानिस सायद नेपालमा अरू छैन।’ यस्तै एमाले अध्यक्ष ओली धोकाचाहिँ आफूले दिने तर अरूलाई धोकेवाजको आरोप लगाउने प्रवृत्तिको मान्छे भएको आरोप पनि प्रचण्डले लगाएका छन् ।

प्रचण्डले नेकपा एमालेका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्टलागतय १० जना नेताले आत्मसमर्पण गरेकोमा अनौठो लागेको बताएका छन् । उनले आफूहरुलाई दह्रोसँग टेक्नुस् भन्नेले नै आत्मसमर्पण गरेको बताए । “जो वैचारिक भन्थे तिनीहरुले पनि आत्मसमर्पण गरे। केपीको निरंकुशता पनि थाहा छ तिनीहरुलाई । केपी ओली नेपालको एउटा भ्रष्ट र जाली नेता भन्ने उहाँहरुलाई थाहा छ।

मलाई उहाँहरुले सिकाएको हो,” उनले भने,“ घनश्याम, योगेश, गोकर्णलगायत १० जनाले सिकाएको हो ओली यस्ता छन् भनेर। दह्रोसँग टेक्नुस् हामी छौं भन्नुहुन्थ्यो । अन्त्यमा सबैले आत्मसमर्पण गर्नुभयो । अनौठो लागेको छ ।”