
चितवन- वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारका मातहतमा रहेका अस्पतालाई प्रभावकारी सेवा दिन आग्रह गरेका छन् ।

पूर्वी चितवनस्थित बकुल्लहर रत्ननगर अस्पतालमा आज आयोजित पिसिआर ल्याब र अक्सिजन प्लान्टको शुभारम्भ गर्दै उनले अस्पताललई थप श्रोत साधन सहयोग गरिने जानकारी समेत दिए । यी दुवै उपकरण प्रदेश सरकारले अस्पताललाई उपलब्ध गराएको थियो । स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यक देखिएपछि सरकारले स्वास्थ्य मन्त्रालयलाई अलग बनाएको उनको भनाइ छ ।



अस्पताल सञ्चालक समितिका अध्यक्ष गोपाल कर्माचार्यका अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार कटुवाल, सामाजिक विकासमन्त्री विजय सुवेदी, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्व कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री दावा दोर्जे लामा, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले अस्पतालका विषयमा जानकारी गराएका थिए । विसं २०२४ मा हेल्थपोष्टबाट सुरुआत भएको सो अस्पताल अहिले प्रादेशिक ५० श्ययाको स्वीकृत भए पनि ४३ श्यया मात्रै सञ्चालन गर्नु परेको उनले गुनासो गरे । अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मीसहित १२० कार्यरत रहेको भए पनि दरबन्दी भने २५ जनाको मात्रै रहेको उनले बताए । अहिले सो अस्पतालले मनोरोग बाहेक अन्य रोगको विशेषज्ञ सेवा दिंदै आएको छ ।