माओवादी जनयुद्धका कारण विस्थापित भएको संस्कृत शिक्षाप्रति आकर्षण बढ्दो

म्याग्दी :  पूर्विय सभ्यता, दर्शन, धर्म र विज्ञानको जननी (आमा) मानिने संस्कृत शिक्षाको अध्ययनप्रति पछिल्लो समय विद्यार्थीहरुको आकर्षण बढ्दै जान थालेको छ।

 

बिज्ञापन

२०५२ सालमा तत्कालिन माओवादी जनयुद्धका कारण विस्थापित भएको संस्कृत शिक्षा देशमा शान्ति पुनःस्थापनासंगै आध्यात्मिक चेतनाको विस्तार हुन थालेपछि पुनः पठनपाठन हुन थालेको हो।

 

समाजमा हुने विभिन्न किसिमका धार्मिक कार्य, अनुष्ठान र पुजापाठमा ब्राह्मण र पुरेतहरुको उपस्थिति घट्दै गएको अवस्थामा संस्कृति विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएकोमा सरोकारवालाहरुले खुसी व्यक्त गरेका छन्।

 

म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरधाम परिसरमा सञ्चालन गरिएको शालग्राम गण्डकी वेद विद्याश्रममा पछिल्लोपटक विद्यार्थीहरुको आकर्षण बढ्दै गएको हो।

 

गलेश्वर शिवालय क्षेत्र विकास कोषद्वारा सञ्चालन गरिएको संस्कृत विद्यालयमा बसेर संस्कृत तथा आधुनिक विषय अध्ययन गर्नका लागि म्याग्दी जिल्लासहित देशका विभिन्न जिल्लाहरुबाट विद्यार्थीहरु आएका छन्। अहिले मुगु, रामेछाप, स्याङ्जा, पाँचथर, पर्वत, वागलुङ र म्याग्दीका गरी सात जिल्लाका विद्यार्थीहरुले यहाँ अध्ययन गर्दै आएका छन्।

 

शालग्राम कालीगण्डकी वेद विद्याश्रमका प्रधानाचार्य चिरञ्जीवी आचार्यले दिएको जानकारी अनुसार उक्त विद्यालयमा हाल २८ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन्। विद्याश्रमको ६ कक्षामा १२ जना, ७ कक्षामा ८ र कक्षा ८ मा पनि ८ जना विद्यार्थीहरुले संस्कृतसहित आधुनिक विषयहरु अध्ययन गर्दै आइरहेको उनले जानकारी दिए।

 

सनातन÷वैदिक धर्मको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको विद्याश्रममा संस्कृततर्फ संस्कृत व्याकरण, शुक्लयोजुर्वेद, संस्कृत भाषा र कर्मकाण्ड विषय रहेको छ। यसैगरी आधुनिक विषयतर्फ नेपाली, सामाजिक, अंग्रेजी र गणित विषयको अध्ययन अध्यापन भैरहेको प्रधानाचार्य आचार्यले बताए। उनका अनुसार मुख्य विषय भने संस्कृतलाई नै जोड दिइएको छ।

 

 

वेद विद्याश्रममा अध्ययनरत सबै विद्यार्थीलाई गलेश्वर शिवालय क्षेत्र विकास कोषबाट निःशुल्क रुपमा आवासीय सुविधासहित अध्ययन गर्ने व्यवस्था मिलाइएको छ।

 

त्यस्तै अध्यापनरत ३ जना शिक्षकको तलब पनि क्षेत्र विकास कोषले नै बेहोर्दै आइरहेको छ। शालग्राम वेद विद्याश्रममा चालु शैक्षिक सत्र २०७६ सालको बैशाख महिनादेखि कक्षा ८ सञ्चालन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिए।

 

विगतमा संस्कृत विद्यालय सञ्चालन गरिएको भए पनि बिचको समयमा आएर केही समय बन्द भएपछि २०७३ सालबाट पुनः संस्कृत अध्ययन गराउने उद्देश्यका साथ गलेश्वरमा वेद विद्याश्रम सुरु गरिएको थियो। गलेश्वर मन्दिर परिसरमा केही समययता विभिन्न पूर्वाधारहरु समेत थपिएका छन्।

 

प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर मन्दिरको चौतर्फी विकासका लागि क्षेत्र विकास कोषबाट आवश्यक पहल थालिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए।

 

२०४४ सालमा स्वामी श्रीधराचार्यले  गलेश्वरमा आश्रम बनाई संस्कृत शिक्षा र आध्यात्मिक ज्ञानको प्रचार प्रसार गरेका थिए। उनले आफ्नै व्यक्तिगत लगानीमा गलेश्वरमा संस्कृत पाठशाला स्थापना गरेका थिए। साभार: थाहा खबर