
एजेन्सी । भारतको बिहार राज्यका एक व्यक्तिले ४० वर्षदेखि कपाल धोएका र काटेका छैनन् । उनको ६ फीट लामो जटा छ । यसलाई उनी भगवानको आशीर्वाद मान्छन् ।




बिहारको मुंगेरमा बस्ने सकलदेव टुड्डुले आफ्नो जटा फेटा झैं गरी बाँध्ने गरेका छन् । ४० वर्षअघि एक रात उनको कपाल आफैं जटामा परिणत भएको र यसलाई उनले भगवानको आशीर्वादका रूपमा लिएको बताए ।

भगवान् सपनामा आएर कपाल नकाट्न भनेको अनि आफूले त्यो निर्देशन अहिलेसम्म पालन गरिरहेको उनी बताउँछन् । भगवानको भक्तिका लागि उनले रक्सी पिउन र चुरोट तान्न पनि छोडे ।
त्यसो त साधुहरूले पनि जटा पाल्छन् तर सकलदेवको कपाल एउटा ठूलो जटा बनेको छ । यसलाई सफा राख्न उनी सेतो कपडा बेरेर बाहिर निस्कन्छन् ।
उनले जटा बाँधेनन् भने कपाल जमीनमा लतारिन्छ । उनी साधु जस्तो देखिने अनि विनम्र स्वभावका भएका कारण छिमेकीहरू उनलाई महात्मा भनी बोलाउँछन् ।
उनी परम्परागत चिकित्सा पनि गर्छन् । निःसन्तान दम्पतीलाई उनी घरेलु उपचार गर्छन् । सकलदेवले वन विभागमा ३१ वर्ष काम गरेका छन् र उनी पत्नी रुपिया देवी, तीन छोरा, तीन छोरी र सात नातिनातिनासँग बस्छन् ।