
काठमाडौं । देशभरबाट मनसुन बाहिरिए पनि मंगलबार पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने प्रणाली विकसित नभएपनि हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
मंगलबार दिउँसो देशभर सामान्यतया सफादेखि आंशिक बदली रही पहाडी भू–भागको एक–दुई स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, महाशाखाले सार्वजनिक गरेको मौसम बुलेटिन अनुसार आगामी तीन दिनसम्म देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति भने देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।



महाशाखाका अनुसार यो वर्ष औषतभन्दा ९ दिन ढिला गरी मनसुन बाहिरिएको हो । यस वर्षको मनसुनमा सरदरभन्दा १५ प्रतिशत बढी वर्षा भएको छ ।
यो वर्ष मनसुनका चार महिना (जेठदेखि असोज) मा सबभन्दा बढी पोखरामा वर्षा भएको छ ।
वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार यस वर्ष मनसुनमा सबभन्दा कम वर्षा कर्णालीको उत्तर पूर्वी क्षेत्रमा भएको छ ।
