फाइजर खोप पाँच वर्षमाथिका बालबालिकालाई लगाउन मिल्ने

न्युयोर्क । अमेरिकी विज्ञहरुले कोभिडविरुद्धको फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिन मिल्ने बताएका छन् । अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूको एउटा समूहले पाँच वर्षदेखि माथिका बालबालिकालाई फाईजर खोप दिन मिल्ने बताएको हो ।  विज्ञहरुका अनुसार सो उमेर समूहका बालबालिकालाई वयस्कलाई दिइएको खोपको एक तिहाइ मात्रा दिइनुपर्छ ।

विज्ञहरुले खोपलाई स्वीकृत गरेसँगै २ करोड अमेरिकी बालबालिका यसबाट लाभान्वित हुनेछन्  । तर, एफडीए र अमेरिकाको रोग नियन्त्रण तथा उन्मूलन केन्द्रबाट खोप अनुमोदन हुन भने बाँकी छ ।

बिज्ञापन

यसअघि सेप्टेम्बरमा खोप निर्माता कम्पनीले परीक्षणपछि सानो उमेर समूहका बालबालिकालाई पनि खोप दिन सकिने जनाएको थियो ।  अमेरिकामा सो खोप १२ वर्षमाथिकालाई केही महिनाअगाडिदेखि  दिन थालिएको छ ।   अमेरिकाले १ लाख भन्दा बढी फाइजर खोप नेपाललाई अनुदानमा दिएको छ । पहिलो चरणमा १२ वर्षमाथिका दीर्धरोगीलाई सो खोप दिइने छ ।