
काठमाडौँ – उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको दोस्रो चरणका खेल आज सोमबारबाट सुरु हुँदैछ । प्रतियोगितामा आज दुई खेल हुनेछन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने नकआउट चरणको पहिलो खेलमा समूह ‘ए’ को विजेता झापाको कनकाइ नगरपालिका र समूह ‘जे’ को विजेता सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाबीच हुनेछ । खेल दिउँसो १२ बजे सुरु हुनेछ ।



यस खेलको विजेताले बुधबार समूह ‘जी’ को विजेता कैलालीको गोदावरी नगरपालिकासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।अर्को खेल समूह ‘एफ’ को विजेता दाङको तुलसीपुर नगरपालिका र इलामको रोङ गाउँपालिकाबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

यस खेलको विजेताले सेमिफाइनल पुग्नका लागि समूह ‘आइ’ को विजेता कैलालीको गौरीगंगा नगरपालिकासँग खेल्नेछ ।अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा कात्तिक ४ गतेबाट सुरु भएको प्रतियोगितामा सहभागी ३१ टोलीलाई दश समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहबाट एक टोलि समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका थिए । उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।