
काठमाडौँ : आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज भुटानको सामना गर्दैछ ।पहिलो खेलमा हङकङसँग पराजित नेपाली टोलीले दोस्रो खेलमा भुटानसँग भिड्न लागेको हो । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउसो ३ः१५ बजे सुरु हुनेछ । भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ।

किनकी नेपालले पहिलो खेलमा हार व्यहोरेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको थियो । नेपाललाई हङकङले ६ विकेटले हराएको थियो । भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो । छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।



ग्लोबल छनोटबाट दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । छनोटअन्तर्गत नै नेपालले तेस्रो खेलमा कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।
