दूध उत्पादनमा चुनौती : आम्दानीभन्दा खर्च बढी

काठमाडौँ,   सरकारले समयमा दूधको मूल्य नबढाउँदा अहिले किसानलाई प्रतिलिटर दूध बिक्रीमा पाँच/छ रुपियाँ घाटा भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले गराएको अध्ययनले देखाएको छ ।

नेपाली डेरी साइन्स एसोसिएसनका सदस्य एवं डेरीविज्ञ डा. विनोद गुप्ताले सातै प्रदेशका ११ वटा जिल्लामा गरेको अध्ययनले एक लिटर दूध उत्पादन गर्न ठाउँअनुसार ४५.३७ रुपियाँदेखि ६७.०७ रुपियाँसम्म खर्च हुने गरेको देखाएको छ तर दूधको बिक्री प्रतिलिटर ५० रुपियाँदेखि ७० रुपियाँसम्म रहेको छ ।
डा. गुप्ताले भने, “दूधको उत्पादन खर्च एकदमै उच्च छ ।

बिज्ञापन

त्यसको तुलनामा आम्दानी निकै कम देखिएको छ । त्यसैले दूध उत्पादनमा लगानी र खर्चको औसत हिसाब निकाल्दा प्रतिलिटर छदेखि १० रुपियाँ मूल्यवृद्धि गर्नुपर्छ । ” दूध उत्पादन खर्च सबभन्दा बढी सर्लाही जिल्लामा र सबभन्दा कम इलाममा रहेको अध्ययनले देखाएको छ । प्रतिलिटर दूध उत्पादन खर्च सर्लाही जिल्लामा ६७.०७ रुपियाँ छ भने इलाममा ४५.३७ रुपियाँ रहेको छ ।

प्रतिलिटर दूध उत्पादन खर्च मोरङमा ४६.०४ रुपियाँ, सप्तरीमा ४७.२८ रुपियाँ, चितवनमा ४८.१२ रुपियाँ, काभ्रेमा ५४.९२ रुपियाँ, कास्कीमा ५९.६४ रुपियाँ, कैलालीमा ६०.३० रुपियाँ, बाँकेमा ६३.०७ रुपियाँ, रुपन्देहीमा ६३.६६ रुपियाँ र सुर्खेतमा ६४.०४ रुपियाँ रहेको अध्ययनले देखाएको छ ।

गाईबस्तुलाई खुवाउने घाँस, परालमा औसत खर्च ४७.५ प्रतिशत रहेको छ भने दानामा ५२.२० प्रतिशत खर्च रहेको अध्ययनले देखाएको छ । सबभन्दा बढी ५०.८८ प्रतिशत दानामा खर्च गर्ने जिल्ला बाँके हो । सबभन्दा कम ४३.२८ प्रतिशत खर्च गर्ने जिल्ला कैलाली हो ।