
काठमाडाैँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको संघर्ष र वीरतापूर्ण बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण उत्पीडित समुदायबीच सहिष्णुता र आपसी ऐक्यबद्धता अपरिहार्य रहेको बताएका छन्। नेपाली जनताका बीचको सुदृढ राष्ट्रिय एकताबाट संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न र नेपाली भूमिबाट नयाँ विचारको विकास गर्न सम्भव रहेको उनको भनाइ छ।

उनले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सु-स्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।



अध्यक्ष प्रचण्डले भनेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सांस्कृतिक विविधताले भरिएको देश हो, नेपाली समाजको यहि विविधता विश्व समुदायका लागि एक सामाजिक सद्भावको प्रेरणादायी सन्देश पनि हो, देशका लागि भाषा, संस्कृति, भेष भूषा र संस्कार सभ्यताका आधार स्तम्भ हुन्, यिनको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व हो।’

तमु समुदायमा नयाँ वर्षको आगमनको खुसीयालीमा विशेष उत्साह र उमङ्गका साथ मनाइने तमु ल्होसारले आफ्नै मौलिकता, परम्परा र सांस्कृतिक महत्त्व राख्ने उनको विश्वास छ। उनले यो समुदाय सदियौँदेखि आफ्ना रीति, परम्परा तथा संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै आइरहेको बताएका छन्।
उनले यस पर्वले तमु जातिलगायत सम्पूर्ण नेपालीबीच सहिष्णुता र सद्भावको भावना जागृत होस् भन्दै हार्दिक शुभकामना व्यक्त गरेका छन्।