
जर्मन बुन्डेस लिगामा शीर्ष स्थानमा रहेको वार्यन म्युनिख घरेलु मैदानमै पराजित भएको छ। पछिल्ला पाँच खेलमा लगातार जित निकालेको वार्यन शुक्रबार राति घरेलु मैदानमै बौउरुसिया मोनचेनग्लाडबचसँग २-१ ले पराजित भयो। वार्यनको जारी लिगमा यो तेस्रो हार हो।
जितसँगै ग्लाडबचले लिग अंक तालिकामा तीन स्थान सुधार गर्दै ११ औं स्थानमा उक्लिन सफल रह्यो। पराजयका बाबजुत म्युनिख ४३ अंकसहित शीर्ष स्थानमा कायम छ। दोस्रो स्थानको बौरुसिया डर्टमुन्डको ३४ अंक छ।
लिगको विन्टर ब्रेकपछिको पहिलो खेलमा म्युनिखले आफ्ना स्टार खेलाडीको अभाव भोग्नु पर्यो। कोरोनाका कारण आफ्ना अधिकांश नियमित खेलाडीबिना मैदानमा उत्रिएको थियो। म्यानुअल नुएर, लुकास हर्नान्डेज, लियोन गोरटेका, लेरायो साने, अलफोनसो डेभिस, किंगस्ली कोमन लगायतका महत्वपूर्ण खेलाडीलाई कोरोनाका कारण मैदानमा गुमाएको थियो।
उसका एक दर्जनभन्दा बढी खेलाडी कोभिडको सिकार भएको बताइएको छ। वार्यनले खेलमा रोबर्ट लेवान्डोस्कीको गोलमार्फत १८औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो। मुलरको पासलाई सदुपयोग गर्दै लेवान्डोस्कीले सिजको २०औं लिग गोल गरेका थिए।
तर‚ अंक तालिकाको मध्यभागमा रहेको ग्लाडबचले २७औं मिनेटमा फ्लोरियन नेउहसको आकर्षक भलिमार्फत खेल बराबरीमा ल्यायो। त्यसको ४ मिनेटपछि नै पाहुना टोलीले अग्रता लियो। ३१औं मिनेटमा स्टेफन लाइनेरले कर्नर बलमा हेड गोल गर्दै टिमलाई २-१ को अवस्थामा पुर्याए। दोस्रो हाफमा पनि अग्रता जोगाउन सफल भएसँगै ग्लाडबचले म्युनिखलाई पराजित गर्न सफल भयो।