
काठमाडौं : मधेस प्रदेशको प्रदेशसभामा रिक्त विभिन्न समितिका सभापतिहरू चयनका लागि आज प्रदेशसभामा उम्मेदवारी दर्ता हुँदैछ ।
प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको रिक्त रहेको सभापति पदका लागि प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले उम्मेदवारी आह्वान गरेका थिए ।
सत्तारुढ दलहरूले सर्वसम्मतिमै सभापति चयन हुने जनाएका छन् । सत्तारुढ नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति, नेकपा एकीकृत समाजवादीले कृषि तथा भूमि व्यवस्था समिति र माओवादीले प्राकृतिक स्रोत तथा वातावरण समितिमा आ–आफ्नो दाबी गर्दै आएको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले माओवादी केन्द्रले पनि एउटा समितिको सभापति पाउनुपर्ने दाबी गरेको बताए ।
यता प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीले सार्वजनिक लेखा समितिको सभापति पाउनु पर्ने दाबी गर्दै आएको छ । संसदीय व्यवस्थामा सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलको रूपमा लोसपा नेपालले पाउनुपर्ने प्रमुख सचेतक परमेशर साहको दाबी छ ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार नेकपा एकीकृत समाजवादीले कृषि तथा भूमि व्यवस्थामा समितिमा रहेका सदस्य रवीन्द्र बैठा धोवीलाई अर्थ तथा योजना समितिमा ल्याइएको जनाएको छ ।
त्यस्तै बैठाको स्थानमा अर्थ तथा योजना समितिमा रहेका मदन सेन श्रीवास्तवलाई कृषि तथा भूमि व्यवस्थामा ल्याइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
कांग्रेसको भागमा परेको सार्वजनिक लेखा समितिमा नरेश कुमार यादव वा शिवचन्द्र चौधरी मध्ये कुनै एकलाई सभापति बनाउने योजना रहेको कांग्रेसका एक नेताले जानकारी दिए ।
कृषि तथा भूमि व्यवस्थामा एकीकृत समाजवादीका दुई जना सदस्य मञ्जु यादव र अर्का एक सदस्यमा श्रीवास्तवलाई ल्याइएको छ । त्यस्तै माओवादीले जगतप्रसाद यादवलाई प्राकृतिक श्रोत तथा वातावरण समितिको सभापति बनाउने तयारी गरेको छ ।