काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत अध्ययन सुरु

काठमाडौै । रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ अर्थात् प्रस्तावित मार्गबारे थप अध्ययन गर्न सर्वेक्षण सुरु भएको छ ।
गत अक्टोबरमा नेपाल र भारतबीच भएको समझदारी पत्रमा आधारित रहेर उक्त अध्ययन अघि बढाइएको रेल विभागले जनाएको छ ।
काम सुरु गर्नका लागि भारतले नियुक्त गरेको कोनकन रेल्वेज कर्पोरेशनले काम सुरु गर्ने तय भएको बताइएको छ ।

उक्त कम्पनीका केही कर्मचारी अध्ययन गर्नुपर्ने स्थानमा पुगिसकेको र थप कर्मचारी त्यहाँ पुग्ने क्रममा रहेको विभागका प्रवक्ता तथा सिनिअर डिभिजनल इन्जिनियर अमन चित्रकारले जानकारी दिए ।

बिज्ञापन

अध्ययन १८ महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष लिएको उनले जानकारी दिए ।
विभागका अनुसार अबको अध्ययनले ‘अलाइन्मेन्ट’का साथै ‘जीओ टेक्निकल इन्भेस्टिगेसन’ अर्थात् भौगर्भिक प्राविधिक अनुसन्धान गर्नेछ ।
सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन अगाडि बढाउन एउटा समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

त्यसैको आधारमा सन् २०१९ मा भारतीय प्राविधिकहरूले गरेको एउटा प्रारम्भिक अध्ययनले काठमाडौं–रक्सौल रेलमार्ग निर्माणका लागि चार वटा वैकल्पिक रूट प्रस्ताव गरिसकेको छ । हाल भइरहेको अध्ययन त्यसैमा आधारित हुनेछ । यो अध्ययन विगतको भन्दा गहन हुने अधिकारीहरू बताउँछन् ।
हाल भइरहेको अध्ययनमा लाग्ने खर्च भारतले बेहोर्ने जनाइएको छ ।

यो अध्ययनपछि काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी रेलमार्गकोपरियोजनाको लागतबारे थाहा हुने र त्यसैका आधारमा लगानीको खाका तयार हुने अधिकारीहरू बताउँछन् ।
उक्त अन्तरदेशीय रेलमार्ग परियोजनाका लागि प्रारम्भिक प्रतिवेदनमा सुझाइएका चारमध्ये पहिलो रूटको लम्बाइ झन्डै १७१ किलोमिटर, दोस्रोको १९१ किलोमिटर, तेस्रोको १९८ किलोमिटर र चौथोको १३६ किलोमिटर छ ।
प्रतिवेदनका अनुसार रेलमार्गमा १३ देखि २० वटा स्टेशन राख्न सकिनेछ ।

पहिलो विकल्प जितपुर, हटिया, हेटौँडा, मन्थली र सतीखेल हुँदै काठमाडौं पुग्छ । त्यसको ट्रयाक २३१ किलोमिटर हुनेछ भने १८ वटा स्टेशन हुनेछन् ।
दोस्रो विकल्प जितपुर, निजगढ, हेटौँडा, मन्थली र सतीखेल हुँदै काठमाडौं पुग्छ ।

त्यसको ट्रयाक २४६ किलोमिटर हुनेछ भने १९ वटा स्टेशन हुनेछन् ।
तेस्रो विकल्प जितपुर, निजगढ, शिखरपुर, बिट्नी र सतीखेल हुँदै काठमाडौ पुग्छ । त्यसको ट्रयाक २२२ किलोमिटर हुनेछ भने २० वटा स्टेशन हुनेछन् ।
जितपुर, निजगढ, शिखरपुर, सिस्नेरी र सतीखेल हुँदै काठमाडांै पुग्ने चौथो विकल्पमा ९१.२ किलोमिटर लामो सिङ्गल लेन र ४४.६८६ किलोमिटर लामो डबल लेन हुनेछन् ।

त्यसको ट्र्याकको लम्बाइ २१९ किलोमिटर हुनेछ ।
प्रतिवेदनमा चौथो विकल्पको लागत अरू तीनवटा सम्भावित रूटभन्दा कम पर्न आउने देखाइएको छ । प्रस्तावित रूटमध्ये चौथो रूटमा थप अध्ययन अघि बढाउने सहमति जुटेको अधिकारीहरूले बताउँदै आएका छन् ।
नेपाल र भारतका सीमावर्ती क्षेत्रलाई जोड्ने रेलमार्ग भए पनि काठमाडौंसँग जोड्ने रेलमार्ग चाहिँ यो पहिलो हुनेछ ।