बाह्र दिनपछि काठमाडौँ उपत्यकाको फोहोर उठ्यो

काठमाडौं । बाह्र दिनपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्न थालिएको छ। बुधबार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि बिहीबार बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहोर विसर्जन हुन थालेको हो।

तोकिएका समयमा सडक निर्माणको काम सम्पन्न नभएको भन्दै स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि फोहोर उठेको थिएन। हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने छ किलोमिटर बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको जनाउँदै पासाङल्हामु राजमार्गका स्थानीयले गरेको अवरोधका कारण ती स्थानीय तहको फोहोर उठ्न नसकेको हो।

बिज्ञापन

ती स्थानीय तहको फोहोर विसर्जन गर्नका लागि दीर्घकालीन समाधान हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभागको प्रमुख सरिता राईको भनाइ छ । सडक बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहोर पटकपटक रोकिँदा गाली कामपाको खाने गरेको छ।

हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माण कार्य भइरहेको र निर्धारित समस्यमा काम सम्पन्न नहुँदा समस्या भएको पनि कामपाको भनाइ छ ।

कामपाले नियमितरुपमा उपत्यकाको फोहोर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घ समाधन खोज्न आवश्यक रहेको भन्दै अन्यथा आगामी बर्खाका समयमा झन ठूलो समस्या आउने जनाएको छ।