राप्रपा संयुक्तसँगको पार्टी एकता फुट्न दिन्न : राप्रपा अध्यक्ष थापा

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिबद्धता जनाउनुभएको छ ।

 

पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै अध्यक्ष थापाले पार्टी एकता फुट्छ कि भन्ने भन्ने नकारात्मक सोच र आशङ्का नगर्न आग्रह गर्नुभएको हो ।

 

बुधबार राप्रपा र राप्रपासंयुक्तबीच पार्टी एकता हुँदैछ । थापाले पार्टी फुट्दैन र फुट्न दिन्नौँ भन्ने मानसिकताका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘पार्टी फुट्छ कि भन्ने नकारात्मक सोच र आशङ्का लिएर नजाऔँ । सतर्क रहनुपर्छ, सचेत रहनुपर्छ तर सुरुमै आशङ्का लिएर नकारात्मक सोच लिएर अगाडि बढ्न खोज्यौ भने सिथिल भइन्छ र गति लिन सकिँदैन । अब पार्टी फुट्दैन, फुट्न दिँदैनौँ भन्ने मानसिकताका साथ पार्टी अगाडि बढ्नुपर्छ ।’

 

अध्यक्ष थापाले पार्टी एकताले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र, राजासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्रको धरालतलाई सबल बनाउन थप शक्ति प्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।

 

थापाले कम्युनिष्ट र कांग्रेसको वैकल्पिक शक्ति जनताले खोजिरहेको उल्लेख गर्दै राप्रपाले आफूलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउनुपर्ने बताउनुभयो ।

 

अन्य कुनै पनि पार्टीले आफूलाई कांग्रेस, कम्युनिष्टको विकल्पका रुपमा प्रस्तुत गर्न नसक्ने उल्लेख गर्दै थापाले उनीहरुले लिएको नीति र अवधारणाको विकल्पमा राप्रपाले मात्रै फरक विचार र मार्गचित्र दिन सक्ने बताउनुभयो ।