नेपालले श्रीलंकन टोलीलाई दियो विशाल लक्ष्य, चार खेलाडीको अर्धशतक

काठमाडौं — श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोली तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई ३३२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३३१ रन बनायो ।

नेपालका लागि चार ब्याटरले अर्धशतकीय पारी खेले । युवा ब्याटर रोहितकुमार पौडेलले ७२, कुशल भुर्तेतले ५७, करण केसीले अविजित ५३ र आसिफ शेख ५२ रन बनाए ।

बिज्ञापन

त्यस्तै, कमलसिंह ऐरीले अविजित ४५, आरिफ शेखले ३५ विनोद भण्डारी, पवन सर्राफले तीन÷तीन र भीम सार्कीले दुई रनको योगदान दिए ।

नेपालले जारी भ्रमणमै श्रीलंका नेभी स्पोर्ट्स क्लबविरुद्ध दुई म्याच खेलिसकेको छ । नेपालले नेभी स्पोर्ट्सविरुद्धको पहिलो खेलमा १११ र दोस्रो म्याचमा ८१ रनको जित हासिल गरेको थियो । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्नुअघि नेपाली टोलीले श्रीलंकामा प्रथम श्रेणी क्रिकेट क्लबसँग चार अभ्यास म्याच खेलिरहेको हो ।

अभ्यास म्याचपछि नेपाली टोली १४ मार्चमा त्यहीँबाट यूएई प्रस्थान गर्नेछ । जहाँ नेपालले यूएईसहित पपुवा न्यूगिनीविरुद्ध एकदिवसीय सिरिज खेल्ने तालिका छ । नेपालले पहिलो खेल १६ मार्चमा पिएनजीविरुद्ध खेल्नेछ । हालसम्म नेपालले विश्वकप लिग–२ मा आठ म्याच खेलेको छ ।

जसमा नेपालले चारमा जित र चार खेलमा हार बेहोरेको छ । अहिले नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ । अंक तालिकाको शीर्ष तीनमा रहन सके नेपाल २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ ।