झडपमा घाइते सांसद साहलाई उपचारका लागि काठमाडौंं ल्याइयो

सर्लाही — ईश्वरपुर नगरपालिका –६ बयलवासमा शनिबार बिहान भएको झडपमा घाइते भएका सांसद प्रमोद साहलाई थप उपचारका लागि काठमाडांै ल्याइएको छ ।

टाउको र पिठ्यूमा चोट लागेका साहलाई बयलवासमा सामान्य उपचार पश्चात शनिबार मध्यान्ह थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौंं ल्याइएको हो ।

बिज्ञापन

बयलवास बजारस्थित सडक छेउमा रहेको फूलजोरबाबा युवा क्लबको भवन निर्माण र सडकमा नाला बनाउने विषयमा दुई पक्षबीच भएको झडपमा जनता समाजवादी पार्टी (जसपा) को प्रमुख सचेतक समेत रहेका सर्लाही क्षेत्र १ का सङ्घीय सांसद साह घाइते भएका छन् ।

झडपमा सामान्य घाइते भएका सांसद साहका अङ्गरक्षक (प्रहरी सहायक निरीक्षक) विनोदप्रसाद यादवको बयलवासमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।