
पोखरा । पोखरा महानगर खेलकुद विकास समितिले आयोजना गरेको वडास्तरीय भलिबल प्रतियोगितामा महिला सहभागिता शून्य रहेको छ । महानगरकै आयोजनामा हुने प्रतिस्पर्धामा वडाहरुले टिम पठाउन नसक्दा महिला सहभागिता शून्य हुन रहेको हो ।
महानगर खेलकुद विकास समितिको आयोजनामा महिला तथा पुरुष अन्तरवडास्तरीय भलिबल प्रतियोगिता सोमबारदेखि पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा शुरु हुँदैछ ।
महिला तथा पुरुष टिमको सहभागिताको लागि महानगरपालिका खेलकुद विकास समितिले गत ९ गते नै सबै वडालाई पत्राचार गरेको थियो ।
पत्रचार गरेपनि केही वडाले पुरुष मात्रै सहभागिता गराएको छ भने महिला सहभागिता भने शून्य रहेको छ ।
वडास्तरीय प्रतियोगितामा महिला भलिबल टिमको सहभागिता नहुनु आफैंमा आश्चर्यजनक रहेको महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए ।
अन्तरवडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेता दुवै टोलीलाई समान पुरस्कार राखिएको छ ।
विजेता टोलीले समान १ लाख २० हजार, उपविजेताले समान ७०÷७० हजार र तेस्रो हुने टोलीले नगद समान ४०÷४० हजार रुपैयाँ प्राप्त गर्ने छ । उत्कृष्ट पाँच विधाका खेलाडीलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिने महानगर खेलकुद विकास समितिले जनाएको छ ।