नेपालले जित्यो त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि

काठमाडौं — नेपालले त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

सोमबार पपुवा न्युगिनी (पीएजनी)लाई ५० रनले हराउँदै नेपालले त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

बिज्ञापन

१६८ रनको लक्ष्यसहित मैदान उत्रिएको पीएनजीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११८ रनमा समेटियो । पीएनजीका सेसे बाउले ३८ बलमा ५९ रन बनाए पनि टिमलाई निताउन सकेनन् ।

नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले अलराउण्ड प्रदर्शन गरे । उनले ४ विकेट लिएर ५४ रन बनाएका थिए ।

पीएजनीलाई सस्तैमा समेट्न नेपालका दीपेन्द्रसिंह ऐरीले ४, करण केसीले ३, सन्दीप लामिछानेले २ विकेट लिए ।

टियु क्रिकेट मैदानमा पीएनजीका कप्तान असाद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ५४ रन बनाए । आजको खेलमा २१ रन पूरा गर्दै ऐरी टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्यस्तै, करण केसीले ३३, आशिफ शेखले २९, कुशल भुर्तेलले २५ र आदिल आलमले १५ रन बनाए ।

पीएनजीका सेमो कमियाले ३, चाद सोपर, काबुआ मोरेआ र राइली हेकुरेले १–१ विकेट लिए ।

योसँगै घरेलु मैदानमा नेपालले लगातार दोस्रो उपाधि हात पारेको छ भने सन्दिपको कप्तानीमा पहिलो उपाधि जितेको छ ।

नेपाल जारी प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो भने पीएनजी एक खेलमा जित निकालेर रनरेटका आधारमा फाइनलमा पुगेको थियो ।

नेपालले पीएनजीलाई लिगमा १५ रन र ३७ रनले पराजित गरेको थियो भने मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ८५ रनले हराएको थियो ।