कमल गाँउपालिका १ नम्बर वडाको कांग्रेसमा पहिरो , विद्रोह गर्ने चेतावनी

दमक । नेपाली कांग्रेस कमल गाउँपालिका वडा नम्बर १ मा पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरुको ठूलो समूहले पार्टीमा विद्रोह गर्ने भएका छन् ।वैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा उक्त वडामा पार्टीको उमेदवार छनौटमा पार्टी नेतृत्वले मनोमानी गरेको भन्दै आज कमल गाउँपालिका वडा नम्बर १ स्थित सोलमारीमा असन्तुष्ट पक्षहरुको भेलाले कार्यक्रम नै गरि पार्टी नेतृत्व नसच्चिए विद्रोह गर्ने चेतावनी दिएका छन् ।

कांग्रेस पार्टीको कमल १ मा वडा अध्यक्षको लागि १० जना आकांक्षीको नाम सिफारिस भए पनि पार्टी नेतृत्वले पुनः केदार कटवाललाई उमेदवारको रुपमा अगाडि सारेपछि सो वडामा पार्टी भित्र भाडभैलो मच्चिएको हो । स्मरण रहोस केदार कटवाल गत स्थानीय निर्वाचनमा कांग्रेस पार्टीको तर्फबाट उक्त वडाका निर्वाचित वडा अध्यक्ष हुन् ।

बिज्ञापन

उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उक्त वडाका सह- सभापति खगेन्द्र भण्डारीले भने ` हामी यहाँ पार्टीका सम्पूर्ण अफ्ट्यारोका अबस्थामा पनि पार्टीलाई काध थापेर बचाइराख्ने कार्यकर्ता उपस्थित भएका छौं । तर आज आएर पार्टीले हाम्रो अवमूल्यन गरेको छ । पार्टीमा १० जना योग्य आकांक्षीको नाम दिदा दिदै पनि पार्टीको स्थानीय नेतृत्वले विभिन्न प्रभाव र प्रलोभनमा परि पुन: केदार कटवाललाई नै उम्मेदवार छनौट गरेकोमा हाम्रो पूर्ण असहमति छ । के कमल १ मा केदार कटवाल भन्दा योग्य उमेदवार अरु कोही छैन ? यदि पार्टी नेतृत्वले यो निर्णय नसच्याए हामी विद्रोह गर्छौ र समानान्तर समिति गठन गर्छौ र हामी हाम्रो उमेदवार उठाएर जिताएर देखाउछौं ।´

त्यस्तै उक्त भेलालाई सम्बोधन गर्दै पार्टी क्षेत्रीय प्रतिनिधि महेन्द्र भट्टराईले भने ` हामी नेपाली कांग्रेसका कार्यकर्ता वि.पी. कोइरालाका अनुयायी हौँ , उहाले भन्नू भएको थियो पार्टी नेतृत्वको कमजोरीलाई टुलुटुलु हेरेर बस्ने कार्यकर्ता कि त दास हो कि त अवसरवादी हो । हामी यो दुईटै होइनम् , आज पार्टी नेतृत्वले हामी माथि जुन अन्याय गरेको छ हामी यसलाई टुलुटुलु हेरेर बस्दैनौ यो निर्णय नसच्चिए हामी विद्रोह गर्नेछौं जस्को जिम्मेवार पार्टी नेतृत्व स्वयं हुनेछ ।´

उल्लेख्य संख्यामा स्थानीय कार्यकर्ताको उपस्थिति रहेको उक्त भेलामा कमल गाउँपालिका पार्टी सचिव महेन्द्र बुढाथोकी , क्षेत्रीय प्रतिनिधि बिष्णु कार्की , जिल्ला सदस्य सरस्वती सेडाई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

पार्टीको महाधिवेशनमा पराजित भएपछि उहाँहरुको कुण्ठा हो यो गतिविधि : केदार कटवाल

यसै सन्दर्भमा ओमकार टाइम्स प्रतिनिधिले केदार कटवालसंग जिज्ञासा राख्दा उनले भने ` म गत स्थानीय निर्वाचनमा उमेदवार हुदैगर्दा मेरो वडामा पार्टीको अवस्था अत्यान्त नाजुक थियो । त्यो प्रतिकूल अवस्थामा पनि सबैको साथ सहयोग र मेहनतले मैले चुनाव जितेको हो । काम गर्ने कुरामा मैले मेरो क्षमताले भ्याएसम्म राम्रो गरेको छु र अब गर्न बाँकी रहेका कामहरु पनि पुन: निर्वाचित भएभने गर्छु भन्ने उदेश्यले म पनि अन्य साथीहरू जस्तै उमेदवारको आकांक्षी बने , अब पार्टीले मलाई पुनः अवसर दियो भने त्यसमा मेरो के दोष ? फेरि अहिलेसम्म म नै उमेदवार भन्ने निर्णय पनि त भएको छैन ? ´

त्यसो हो भने तपाईं कै पार्टीका साथीहरूलाई तपाईं विरुद्ध कार्यक्रम नै गर्नुपर्ने अवस्था कहाँबाट आयो त ? भन्ने प्रश्नको जवाफ दिँदै कटवाल भन्छन् ` मैले आजसम्म साथीहरूलाई कहि कतै नराम्रो गरेजस्तो लाग्दैन तर उहाँहरुले म विरुद्ध जुन गतिविधि गर्दैहुनुहुन्छ त्यो पार्टीको गत महाधिवेशनमा पराजय भोगेपछिको कुण्ठा हो जस्तो लाग्छ मलाई , नत्र म विरुद्ध लाग्नुपर्ने कुनै कारण नै देख्दिन ।´