मतपत्र छपाइमा व्यस्त रहँदा पुस्तक छाप्न सकिएन : विद्यार्थी पुस्तकविहीन

काठमाडौँ । नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ भन्ने अझै निश्चित छैन । स्कुल गएको पहिलो दिन नै पुस्तक पाइसक्नुपर्नेमा अहिलेसम्म विद्यार्थी पुस्तकविहीन छन् । सरकारी र निजी दुवैतर्फबाट उहिल्यै छापिनुपर्ने पाठ्यपुस्तक अझै छापिएका छैनन् ।

पुस्तक छाप्ने बेलामा सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र स्थानीय तह निर्वाचनको मतपत्र छपाइमा व्यस्त रहेकाले यस्तो अवस्था आएको हो । त्यस्तै निजी प्रकाशकले पनि कागजको मूल्य बढेको भन्दै पाठ्यपुस्तक छाप्न आनकानी गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । यस्तो समस्या हरेक वर्ष दोहोरिँदै आएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् ।

बिज्ञापन

अहिले सामुदायिक र निजी दुवै विद्यालयमा पाठ्यपुस्तकको चरम अभाव छ । वैशाखदेखि नै विद्यार्थी विद्यालय जान थालेका छन् तर पुस्तक पाएका छैनन् । जनक शिक्षाले यस वर्षका लागि कक्षा ४ देखि १० सम्मका विद्यार्थीको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको छ । बाँकी कक्षाका पुस्तक छाप्ने जिम्मा निजी मुद्रकलाई दिइएको छ । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार कक्षा ४ देखि १० सम्मका विद्यार्थीका लागि करिब एक करोड ८५ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने छ ।

अहिलेसम्म एक करोड ५० लाखको हाराहारीमा मात्रै पाठ्यपुस्तक छपाइ भएको केन्द्रले दाबी गरेको छ । तर केन्द्रको दाबीमा पनि पत्याउने भरपर्दो आधार छैन, किनभने उपत्यकाका विद्यार्थीका हातमा समेत अहिलेसम्म पाठ्यपुस्तक पुगेको छैन ।तत्काल पाठ्यपुस्तक आउने छाँट नदेखेपछि अघिल्लो वर्षका विद्यार्थीको पाठ्यपुस्तक खोजेर पढाइलाई निरन्तरता दिनुपर्ने अवस्था देखिएको छ । जनक शिक्षाका तीनवटा छापाखानाबाट अहिले पाठ्यपुस्तक छपाइ भइरहेको छ । ती सबै छापाखानाको दैनिक पाठ्यपुस्तक छपाइ क्षमता एक लाख २५ हजार थान जति छ । छपाइ अवस्था हेर्दा बाँकी पाठ्यपुस्तक छाप्न कम्तीमा पनि जेठभर लाग्छ ।

पाठ्यक्रम विकास केन्द्रले सरकारी तथा निजी मुद्रकहरूलाई गएको माघ–फागुनमा मात्र प्रिन्ट रेडी कपी (पीआरसी) उपलब्ध गराएको थियो । केन्द्रले उपलब्ध गराएको पीआरसीबाट पाठ्यपुस्तक छपाइ गर्नुपर्ने हुन्छ । यसले गर्दा पनि पाठ्यपुस्तक छपाइमा समस्या भएको गुनासो मुद्रकहरूको छ ।यसै वर्षदेखि कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएको छ ।