
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ। आइतबारदेखि सुरू बैठक मंगलबार र बुधबार दुई दिन स्थगितपछि आजलाई सारिएको थियो ।

सुरुको दिनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने सोही दिन प्रदेश र गैरभौगलिकबाट रिर्पोटिङ भएको थियो । आज प्रतिवेदनमाथि हलमा उठेका प्रश्नबारे प्रचण्डले जवाफ दिँदैछन् ।



त्यस्तै थाती रहेको पदाधिकारी चयन पनि आजबाट टुंगिने नेताहरूले बताएका छन् । प्रज्ञा भवन छिर्दै नेता वर्षमान पुनले पदाधिकारीको विषय आज टुंगिने दाबी गरे ।

केन्द्रीय समिति बैठकअघि माओवादीका पूर्व स्थायी कमिटी सदस्य खुमलटारस्थित प्रचण्ड निवासमा भेला भएका थिए । खुमलटार बैठकमा पदाधिकारी टुंगो गरेर केन्द्रीय समिति बैठक समापन गर्ने विषयमा छलफल भएको नेता हरिबोल गजुरेलले जानकारी दिएका छन् ।
माओवादीमा खासगरी महासचिवको विषयले पदाधिकारी चयन पेचिलो बनेको छ । वर्षमान पुन र जनार्दन शर्मा आकांक्षी रहेकाले कसलाई छान्ने विषयमा प्रचण्ड सकसमा छन् ।