
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज (शुक्रबार) निर्वाचन हुँदैछ। दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुने संसद् सचिवालयले जनाएको छ।

उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल (गौतम) र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मीकुमारी चौधरी समर्थक छन्।



भट्टराईको प्रस्तावकमा एमालेकी सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखेल छन्। प्रतिनिधिसभा बैठकमा उम्मेदवारका प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरेपछि मतविभाजनमा गएर चुनाव हुनेछ । प्रतिनिधिसभामा सत्ता गठबन्धनको बहुमत रहेकोले कांग्रेसकी भुसाल उपसभामुख बन्ने निश्चित जस्तै छ ।

प्रतिनिधिसभामा एमालेका ९७ सांसद छन्। एमाले उम्मेदवारको पक्षमा नेमकिपाका एक सांसद प्रेम सुवाल मात्र छन्। गठबन्धनको पक्षमा कांग्रेसका ६३, माओवादी केन्द्रका ५० (स्वतन्त्र छक्कबहादुर लामासहित), नेकपा एकीकृतका २४ (सोम पाण्डेसहित) तथा जसपाका २१ सांसद छन्।
१३ सांसद रहेको लोसपाले समेत कांग्रेस उम्मेद्वारलाई समर्थन गर्ने सम्भावना छ । तत्कालीन नेकपाको एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्ने स्थिति आएपछि २०७६ साल माघ ६ गते मा डा.शिवमाया तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गराएपछि पद रिक्त थियो ।