
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कारागारहरुलाई सुधार गृह बनाएर कैदीलाई कृषि कर्ममा लगाउँने बताएका छन् । बिहीबार राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री खाणले यस्तो बताएका हुन् ।
उनले अधिकांश कारागारहरु शहरको मध्य भागमा रहेको र ती कारागारहरुलाई ठूलो भू-भागमा स्थानान्तरण गरेर नयाँ कारागार निर्माण गर्ने सरकारको योजना रहेको बताएका छन् ।
उनले कारागारको क्षेत्रफल ठूलो बनाएर कैदीबन्दीहरुलाई कृषि उत्पादनको काममा लगाउन सकियोस् भन्ने सरकारको धारणा रहेको उल्लेख गरे। उनले भने, ‘बन्दी गृहलाई अब सुधार गृह बनाउनु जरुरी छ । त्यसका लागि हामी प्रयत्नशील छौँ । अधिकांश बन्दी गृहहरु, कारागारहरु शहरबजारको मध्यभागमा नै
छन् । मध्य भागका जेलहरुलाई बाह्य भू–भागमा, अलि ठूलो भूभागमा स्थानान्तरण गर्ने र नयाँ जेलहरुको निर्माण गर्ने त्यो योजनामा सरकार रहेको छ। जेलको क्षेत्रफल पनि ठूलो होस्।’