
काठमाडौं । नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् । गत मंसिर १९ गते सुरू भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो ।

बाघको संख्या ३ सय ५५ पुगेसँगै नेपालले सन् २०२२ सम्ममा संख्या दोब्बर बनाउन गरेको संकल्प पनि पूरा भएको छ । सबैभन्दा धेरै बाघ चितवनमा राष्ट्रिय निकुञ्जमा पाइएका छन् ।



त्यहाँ १२८ वटा बाघ रहेका छन् । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ पाइएका छन् । बाँकेमा २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ वटा बाघ पाइएका हुन् ।

बाघ गणनाका लागि चितवन,पर्सा, बाँके-बर्दिया र शुक्ला-लालझाडी-जोगबुढा गरेर तीनवटा कम्पलेक्समा विभाजन गरेर गणना गरिएको थियो । बाघ गणनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले टाइगर एन्ड प्रे बेस मोनिटरिङ प्रोटोकोल,२०१७ ले निर्दिष्ट गरे अनुसार क्यामेरा ट्रायापिङ र अकुपेन्सी सर्भे विधि अपनाएर गरेको थियो ।
नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बंगगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया,थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् । साथै बाघको संख्या दोब्बरभएसँगै सरकारले बाघ विशेष कार्यक्रम पनि ल्याउने तयारी गरेको छ ।