जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको प्रतिवेदन सदनमा पेस गर्ने तयारी
काठमाडौं । संसदीय विशेष छानबिन समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने समय तय भएको छ । सभामुखलाई बुझाएलगत्तै सदनमा पेस गर्ने तयारी छ।

बिहीबार नै समय सकिएको समितिले शुक्रबार सभामुखलाई प्रतिवेदन बुझाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार ज्येष्ठ सदस्यको हैसियतमा समितिको संयोजकत्व गरेका लक्ष्मणलाल कर्णले अपरान्ह ३ बजे सभामुखलाई प्रतिवेदन बुझाउने तय भएको हो।

बिज्ञापन

संसद सचिवालयका अनुसार संसद भवन नयाँ वानेश्वरमै सभामुखलाई प्रतिवेदन बुझाइनेछ। प्रतिनिधिसभाको जारी बैठकलाई स्थगित गरेर आजै अर्को बैठक राखिएको छ। पहिलो बैठक स्थगित गरेर छानबिन समितिको प्रतिवेदन सभामुखले बझेर दोस्रो बैठकमा पेस गर्ने तयारी छ।

करको दल हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी प्रश्न उठेपछि २२ असारमा ११ सदस्यीय समिति गठन भएको थियो। समितिलाई सुरुमा १० दिनको समय दिइएको थियो। समय अपुग भएको भनि साउन ५ गते सात दिन समय थप भएको थियो । प्राप्त समयमै छानबिन समितिले प्रतिवेदन तयार गरेको छ। तयार प्रतिवेदनमा ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ निष्कर्ष छ।