नेपाललाई फाइनल पुर्याउन नसके राजीनामा दिने केसीको घोषणा

नेपाली यू–२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यू–२० च्याम्पियनसिप २०२२ को फाइनल प्रवेश गर्न नसकेमा आफूले प्रशिक्षकको पद छोड्ने बताएका छन् । नेपालले साफ च्याम्पियनसिप अन्तर्गत भारत विरुद्धको खेलमा ८–० गोलको हार व्यहोरेको थियो ।उक्त हारपछि उनले खेलाडीहरु र एन्फालाई दोष नदिन पनि आग्रह गरेका छन् । उनले बंगलादेश विरुद्धको खेलमा जित निकाल्न नसके आफै राजीनामा दिने बताए ।

‘सबै जनालाई धन्यवाद, टोलीलाई सपोर्ट गर्नु भएकोमा  । खेलाडीहरुमा अनुभवको कमी छ तर क्षमता पनि त्यत्तिकै छ । आज सबै हजुरहरुलाई खुशी दिन नसकेकोमा धेरै दुःखी छौ । खेलाडी र एन्फालाई दोष नदिउँ । यो मेरो गल्ती हो । मसँग टोलीलाई हारबाट माथि उठाउन दुई दिनको समय छ । अन्यथा म पद छोड्ने छु । म फुटबल जीवनबाट अलग हुनेछु । म मेरो फाइदाको लागि फुटबल डुबाउन सक्दिन । धन्यवाद,’ केसीले लेखेका छन् ।