
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रत्येक पार्टी सदस्यले कम्तिमा दुईजना मतदाता थप्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिरको निर्वाचनपछि एमाले नेतृत्वको सरकार बनाउन अहिले भएका नेता कार्यकर्ताले कम्तिमा एक बराबर २ जना मतदाता थप्नेगरी कार्यक्षेत्रमा खटिन निर्देशन दिएका हुन् ।
प्रदेशदेखि जिल्ला, गाउँ र वडासम्म निर्वाचन परिचलान कमिटी गठन गरेर अघि बढ्न निर्देशन दिँदै ओलीले भने, ‘कम्तिमा दुईजना मतदाता थप्नुहोस् । त्यसबाहेक जति धेरै थपेपनि हुन्छ ।’ दुई थपिहालियो भनेर चुप लागेर नबस्न आग्रह गरे । अध्यक्ष ओलीले आफ्नो मत सुरक्षाका लागि ध्यान दिन कार्यकर्तालाई सम्झाए । एमालेले भदौ पहिलो साताबाट पार्टीका विभिन्न कमिटीको बैठक सम्पन्न गरेको छ । शनिबार सम्पन्न केन्द्रीय कमिटीको चौथो बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै निर्वाचनमा होमिने निर्णय गरेको छ ।