
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट पार्टीले नपाएमा विद्रोह हुन सक्ने चेतावनी दिएका छन् ।

बिहीबार जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न १०० सिट चाहिने र त्यति संख्यामा सिट नपाएमा विद्रोह हुन सक्ने बताएका हुन् ।



तालमेल गर्दा धेरै सिट छोड्नुपर्ने र त्यसरी सिट छोड्दा समानुपातिक निर्वाचन पद्धतितर्फको मत पनि घट्ने भन्दै नेता कोइरालाले त्यसै कारणले विद्रोह हुन सक्ने उल्लेख गरेका छन् । यही कारणले पनि अहिले नेपाली कांग्रेस अप्ठेरो अवस्थामा रहेको कोइरालाले बताएका छन् ।

सरकार बनाउन मात्र गठबन्धन गर्नेबारे सोचेको भए भविष्यमा सबै अप्ठेरोमा पर्ने कोइरालाको भनाई छ । त्यसैले वैदेशिक नीतिलगायतका विषयमा गठबन्धनमा रहेका सबै दलको न्यूनतम साझा सहमति हुनुपर्नेमा डा कोइरालाले जोड दिएका छन् ।