
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न निर्वाचनमा विभिन्न दल तथा उम्मेदवारसँग तालमेलका लागि वार्ता समिति गठन गरेको छ ।

सहमहामन्त्री कविन्द्र बलाकोटी संयोजक रहेको उक्त समितिमा केन्द्रीय सदस्यहरू गणेश पराजुली, डा। अरनिको कुमार पाँडे, सुमना श्रेष्ठ र गणेश कार्की सदस्य छन् ।



प्रवक्ता डा। मुकुल ढकालले हस्ताक्षर गरी जारी विज्ञप्तिमा उक्त अधिकार सम्पन्न उच्चस्तरीय वार्ता समितिले विभिन्न दल तथा उम्मेदवार बन्न योग्य व्यक्तिसँग आवश्यक संवाद, चुनावी तालमेल, कार्यगत एकता गर्नेछ ।

बिहीबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले केन्द्रीय समितिमा डा. अरनिको कुमार पाँडे, सुमना श्रेष्ठ र गणेश कार्कीलाई मनोनीत गरेको छ ।
त्यस्तै निर्वाचन घोषणापत्र तयारी समिति पुनर्गठन गरी डा।पाँडेलाई संयोजक बनाइएको छ । घोषणापत्र तयारी समितिमा विपिनकुमार आचार्य, गणेश पराजुली, महेश्वर घिमिरे, सोविता गौतम, डा। प्रभात अधिकारी, विष्णुकुमार श्रेष्ठ, कुसुम महर्जन र रामकृष्ण भट्टराई सदस्य छन् ।