
मोरङकाे बेलबारी नगरपालिका वाड नं. ३ मा अवस्थित नयाँ मालपोत भवनको ताला-चाबी ठेकेदारसँग हुँदा मालपोत कार्यालय नयाँ भवनमा सर्न सकेकाे छैन । अहिले कार्यालय पूरानै भवनमा भाडामै सञ्चालन भइरहेकाे छ ।

मालपोत कार्यालय नयाँ भवनमा सञ्चालन हुन नसकेपछि स्थानीय आक्रोशित भएका छन् । मालपोतमा हुने मानिसको भिडले कोरोनाभाइरस सर्ने हाे की भनेर स्थानीयहरू त्रसित बनेका छन् । सामाजिक दुरी कायम गर्नलाई पुरानो भाडामा सञ्चालनमा रहेको भवनमा पर्याप्त ठाउँ नभएकाे सर्वसाधरणकाे गुनासाे छ ।



ठेकेदारको लापरबाहीले नयाँ भवनमा कार्यालय सञ्चालन हुन नसकेको मालपोत कार्यालय बेलबारीका पूर्व लेखा अधिकृत हरि प्रसाद कटेलले बताए । ४ पटकसम्म म्याद थप गर्दा पनि निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नभइसकेको उनकाे भनाई छ ।

२०७१ बाट सुरु भएको निर्माण कार्य २०७७ सम्म आइपुग्दा पनि पूर्ण रूपमा सम्पन्न भइसकेको छैन । नयाँ भवन २०७३ जेठ १८ सम्म काम पूरा गर्ने गरी एके एन्ड गानवा कन्स्ट्रक्सन कम्पनीलाई ठेक्का दिइएको थियो ।
कूल ४ करोड ९८ लाख ८१ हजार ५ सय ४९ रुपैयाँ ६९ पैसामा एके एन्ड गानवा कन्स्ट्रक्सन प्रा.लि शान्तिनगर काठमाडौँले भवन निर्माण गर्ने ठेक्का पाएको थियो । सम्झौता अनुसार मालपोत कार्यालय बेलबारीको भवन २०७३ जेठ १८ गते हस्तान्तरण गर्नुपर्ने थियो । नाकाबन्दी तथा भूकम्प लगायतका विभिन्न कारण देखाउँदै ठेकेदारले भवन निर्माणको म्याद पटकपटक थप गरिरहेको कटेलले बताए ।
अन्तिम पटक गरेको म्याद थप पछि ठेकेदारले काम नै नगरेको कटेलले बताए । अहिले १० कट्ठा क्षेत्रफलमा रहेको नयाँ मालपोत भवनको प्राङ्गण पशु चर्ने थलो बनेको छ । ठेकेदारको लापरबाही भवन झिर्ण बन्ने अवस्था रहेको स्थानीयको गुनासो रहेको छ ।
यसरी भवन बनिसक्दा पनि भाडामै कार्यालय चलिरहँदा विभिन्न सवालहरू उब्जिएका छन् । केही दिन अघि मात्र नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदीको नेतृत्वको नेकपाको टोलीले मालपोत कार्यालय पुगेर कार्यालय प्रमुख योगेन्द्र दुलालसँग नयाँ भवनमा कार्यालय सर्न नसक्नुको कारणबारे जानकारी लिएका थिए ।
राज्यको करोडौँको लगानीमा तयार भएको नव निर्मित भवन उपयोग विहीन हुँदा राज्यले अनावश्यक व्ययभार बोक्नु परेको कारण नयाँ भवनमा कार्यालय चाँडो सार्न आफ्नो माथिल्लो निकायमा जानकारी गर्न अनुरोध गरेका थिए ।
नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदी मालपोतको नयाँ भवन बनिसकेको अवस्थामा अब भाडामा त्यसमा पनि कोरोना बेलामा कार्यालय भिडभाडमा सञ्चालन हुँदा जोखिम बढ्ने बताउँछन् । साथै सो टोलीले कोरोनाको संक्रमण बढिरहेको वेलामा कार्यालय सञ्चालन हुँदा नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिन समेत ध्यानाकर्षण गराएको छ ।
मालपोत कार्यालय बेलबारीका प्रमुख योगेन्द्र दुलाल भने सहरी विकास आयोजनाले निर्माण सम्पन्नताको कागज नदिएको हुँदा कार्यालय स्थानान्तरण गर्न कठिनाइ भएको बताउँछन् । मन्त्रालयबाट सञ्चालन अनुमति पाए आफू नयाँ भवनमा कार्यालय सञ्चालन गर्न तयार रहेको पनि उनले बताए ।
नेपाली काँग्रेस महासमिति सदस्य महेन्द्र सुवेदीले भने भवनको निर्माण कार्य पूरा भइसक्दा पनि कार्यालय सर्न नक्नु दुखकाे कुरा भएकाे बताए ।
नेकपा बेलबारी वाड नं. ३ का अध्यक्ष हेमसागर ढकालले पनि नयाँ भवनमा मालपोत कार्यालय सञ्चालनमा उत्पन्न भएको समस्या चाँडो भन्दा चाँडो निराकरण गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । स्थानीयहरू भने जतिसक्दो चाँडो मालपोत कार्यालय नयाँ भवनमा सार्नुपर्ने माग गर्दै आएका छन् ।