
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेको छ । सरकारले २०७८ सालको वैशाख १७ गते र २७ गते निर्वाचन गर्ने घोषणा पनि गरको छ ।

तर, निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयहरुलाई सोमबार सर्कुलर जारी गरेको पत्रमा २०७८ सालको मिति राखेको छ ।



पत्रमा आयोगले जिल्ला निर्वाचन कार्यालयहरुलाई मतदाता नामावली संकलन कार्य स्थगन गर्न निर्देशन दिएको छ । उसले गृह मन्त्रालयको पत्रअनुसार आगामी वैशाख १७ गते र २७ गते निर्वाचन हुन गइरहेकाले प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ मा भएको प्रावधान समेतका आधारमा हाल सबै जिल्ला निर्वाचन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन कार्य सोमबार २०७७ पुस ६ गतेदेखि अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्ने निर्णय गरेको हो । तर आयोगका शाखा अधिकृत दीपक पौडेलले जारी गरेको उक्त पत्रमा वर्ष २०७७ को ठाउँमा २०७८ राखिएको छ ।
