
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्न खोज्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी दिएको छ । आयोगका प्रवक्ता दिनेशकुमार थपलियाले चुनाव बिथोल्न खोज्नेलाई तत्काल कारबाही गर्ने व्यवस्था मिलाइने बताएका हुन् ।

आइतबार ललितपुरको होटल हिमालयमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचन बिथोल्न खोज्नेलाई कारबाही गर्ने भन्दै यसका लागि सरकारले पनि आवश्यक बन्दोबस्ती गर्ने भनेको बताए । यसअघि भएका चुनावहरूमा बिथोल्नेहरूलाई कारबाही गर्ने पद्धति अवलम्बन नगर्दा समस्या आएको थपलियाको भनाई छ ।



यसलाई नियमन गर्न निर्वाचन आयोगमा पनि छुट्टै समिति बनेको र छलफल गरिने उनले बताएका छन् । यस्तै निर्वाचनको सुरक्षा अभावका कारण मतदान रोकियो, पुन मतदान गर्नुपर्ने अवस्था आयो भने कुनै पनि हालतमा स्वीकार्य नहुने पनि उनको भनाई छ । त्यसैले सरकारबाट भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सुनिश्चितता प्रदान गर्नुपर्ने उनले बताए ।

उनले निर्वाचन सुरक्षाको विषय बलले नभई मनोबलले गर्ने भन्दै सुरक्षा संख्याले नभई इच्छाशक्ति र मानसिकताले गर्ने पनि बताए । विगतमा भएका निर्वाचनका घटनाहरूलाई लिएर निर्वाचन आयोगले मतदान केन्द्र तथा मतदान स्थलको संवेदशीलताबारे विश्लेषण गरिएको थपलियाको भनाई छ ।