नेपालबारे चीनले फेरि मुख खोल्यो

काठमाडौँ : संसद विघटन र नेकपा विभाजनपछि चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको प्रतिनिधिमण्डलले हालै गरेको चार दिने नेपाल भ्रमणको टीकाटिप्पणी भइरहेका बेला चीनले फेरि स्पष्टीकरण दिएको छ । उसले हालै चिनियाँ प्रतिनिधिमण्डलले गरेको नेपाल भ्रमण दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउन भएको दोहोर्याएको छ ।

बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनमिनले चिनियाँ प्रतिनिधिमण्डल र नेपालका राजनीतिक दलबीच भएको भेटघाटमा दुई देशबीचको आपसी हित र सम्बन्ध सुदृढीकरणका बारेमा कुरा भएको उल्लेख गरे । प्रतिनिधिमण्डल नेपाल भ्रमण पुरा गरी स्वदेश फर्केको भोलिपल्ट चीनले त्यसबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।

बिज्ञापन

यसअघि सोमबार पनि बेइजिङमा भएको पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका अर्का प्रवक्ता चाओ ली च्येनले आफ्ना पार्टीका नेताहरूको काठमाडौं भ्रमण मित्रता तथा सहकार्यका विषयमा विचार विमर्शका लागि भएको बताएका थिए । उनले भनेका थिए, ‘चिनियाँ कम्युनिष्ट पार्टीले अर्काको स्वतन्त्रता, समानता, आपसी सम्मान र कसैको आन्तरिक मामिलामा हस्तक्षेपको सिद्धान्त अपनाउँदैन ।’ सत्तारुढ दल नेकपाभित्रको विभाजन मिलाउनका लागि चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको भए पनि चीनले भने त्यस विषयमा बोलेका छैन ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागको चार सदस्यीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा गएको थियो । उक्त प्रतिनिधिमण्डलले सत्तारुढ नेकपाका र प्रतिपक्षी काँग्रेसका शीर्ष नेताहरुसँग भेटघाट गरेको थियो ।

प्रतिनिधिमण्डलले भ्रमणका क्रममा नेपालका सत्तारुढ र विपक्षी दलका नेताहरुसँग भेट गरी विभिन्न आपसी विषयमा छलफल गरेको चीनका प्रवक्ता वाङ वेनबिनले बताए । प्रवक्ता वेनमिनले भने, ‘भेटघाटका अवसरमा चिनियाँ प्रतिनिधिमण्डल र नेपालका राजनीतिक दलबीच विचारको आदानप्रदान भयो । पारस्परिक हितका बरेमा पनि कुराकानी भयो । बेल्ट एण्ड रोड इनिसियटिभका बारेमा पनि कुरा भयो । नेपाली पक्षले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १००औं स्थापना वर्षका अवसरमा बधाई पनि दियो । नेपालले दुई देशबीचको सम्बन्ध अझ बलियो पार्नेमा जोड दियो । यसैसाथ हामीले दुई पक्षबीचको सम्बन्ध अझ बलियो बनाउँछौँ ।’ ‘त्यसैगरी दुई देशबीचको परम्परागत मित्रतालाई थप प्रगाढ बनाउन, पार्टीहरुबीचको आदान प्रदानलाई अझ बलियो बनाउने, बीआरआई अन्तर्गतको सहयोगलाई अघि बढाउने र आमजनतालाई थप सुविधा प्रदान गर्नका लागि इच्छा जाहेर गरिएको पनि प्रवक्ता वेनमिनले बताए ।

विभाजनका क्रममा रहेको नेकपाको एकता कायम राख्न अन्तिम प्रयासस्वरुप सो प्रतिनिधिमण्डल नेपाल भ्रमण गरेको विषयमा चिनियाँ प्रवक्ताले कुनै टिप्पणी गरेनन् ।

सत्तारूढ नेकपा विभाजित भएसँगै राष्ट्रपति सी चिनफिङको निर्देशनमा बेइजिङबाट काठमाडौंआएको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्कमल दाहाल र माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा दाहाल-नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेकपा उपाध्यक्ष वामदेव गौतमलगायतलाई भेटेर स्वदेश फर्किएको थियो ।