
एजेन्सी । स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यो सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी हात पारेका हुन् ।

यो सिजन बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउन असफल भएपनि कोपा डेल रे जिताएका मेस्सीले ला लिगामा सर्वाधिक ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन् । उनले कूल ३५ खेलमा ३० गोल र ९ असिस्ट गरेका थिए । मेस्सी यो सिजन बार्सिलोनाको लागि कूल ४७ खेलमा ३८ गोल र १२ असिस्ट गरे ।



त्यस्तै उक्त ट्रफी जित्ने क्रममा मेस्सीले रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र भिल्लारियलका जेरार्ड मोरेनोलाई पछि पारे । बेन्जमाले २३ गोल र ९ असिस्ट गरे । मोरेनोले २३ गोल ७ असिस्ट गरेका थिए ।

मेस्सीले आठौंपटक तथा लगातार पाँचौ सिजन पिचिची ट्रफी जितेका हुन् । उनी लगातार पाँच सिजन यस अवार्ड जित्ने पहिलो खेलाडी समेत हुन् । उनले यस ट्रफी सन २००५ देखि २०२१ सम्म करिब १६ बर्षको अन्तरालमा आठौंपटक जितेका हुन् ।