
२०७७ साल फागुन २४ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा तत्कालीन नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठक बोलाइयो । त्यसको ठिक एक दिन अघि फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो ।

साविकको नेकपामा केपी शर्मा ओलीको स्वेच्छाचारिताविरुद्ध संघर्षमा सहकार्य गरेका प्रचण्ड–माधव त्यतिबेला औपचारिक रुपमा अलग हुने गरी बिदाइ भेट गर्दै थिए । किनकि सर्वोच्च अदालतको फैसला अनुसार नेकपा खारेज भएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा आउने वातावरण बनेको थियो । त्यो अवस्थामा माधवकुमार नेपाल पक्ष एमालेमै फर्कने तयारीमा थियो ।



तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक बसेर माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष एमालेमै फर्किएर संघर्ष गर्ने निर्णय गरे भने प्रचण्ड पक्ष माओवादी केन्द्र पुनर्गठन गरेर जाने अवस्थामा पुगे । त्यही फागुन २४ गतेको स्थायी समिति बैठकबाटै प्रचण्ड–माधवले सहकार्य र समन्वय गर्दै अलग अलग बाटो हिँड्ने निर्णय गरे । त्यो बैठक नै प्रचण्ड र माधव पक्षको बिदाइ बैठक हुन पुग्यो ।

तत्कालीन नेकपाबाट प्रचण्ड–माधव छुट्टिएको १६ महिनापछि फेरि जोड्ने परिस्थिति निर्माण हुन थालेको छ । दुवै पक्षलाई जोड्ने पुलको रुपमा वामदेव गौतमले काम गरे । गौतमकै जोडबलमा तत्कालीन नेकपाको बहुमत सचिवालय बैठक ललितपुरको हात्तीवनमा बस्यो । गत आइतबार प्रचण्ड, माधवसहित झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ बैठकमा सामेल थिए ।
तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यको बैठकमा पार्टी एकता गरेर जाने विषयमा कुराकानी भएको छ । सोही बैठकमा भएका छलफलका विषयमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले ब्रिफिङ गरेका छन् । सोमबार झण्डै ६ घण्टा बसेको सो पार्टीको सचिवालय बैठकमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीच भएको छलफलबारे उनले जानकारी गराएका हुन् ।
‘अध्यक्षले पार्टी एकताका लागि आएको प्रस्तावबारे सामान्य ब्रिफिङ गर्नुभयो’, सचिवालय सदस्य प्रकाश ज्वालाले अध्यक्ष नेपालद्वारा बैठकमा गरेको ब्रिफिङलाई उद्धृत गर्दै भने, ‘पार्टी एकताको प्रस्ताव सकारात्मक हो । तर यसमा अहिले नै निर्णयमा पुग्न सकिँदैन, पार्टीभित्र पनि छलफल गर्नुपर्छ ।’
तर, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले छलफल गर्दै गएमा माओवादीसहित अन्य घटक एक ठाउँमा हुने सम्भावना रहेको बताए । अहिले नै तत्काल एकीकृत हुने अवस्था भने नरहेको उनको भनाइ छ । ‘माओवादी, एकीकृत समाजवादी र वामदेवजीले नेतृत्व गरेको एकता अभियानलाई जोडेर एक ठाउँमा हुन सकिन्छ कि भनेर छलफल भएको छ,’ भुसालले भने, ‘तर, तत्काल एकता हुने सम्भावना छैन । छलफल गर्दै गएमा एक ठाउँमा आउने अवस्था छ ।’
तर नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले तत्कालीन नेकपालाई जोड्ने प्रयास भए पनि प्रारम्भिक चरणमै भएकाले ठोस आकार लिइनसकेको बताए । केपी ओली नेतृत्वको तत्कालीन सरकारले प्रतिगामी कदम चालेपछि भएको गठबन्धन अर्को भरपर्दो विकल्प नहुँदासम्म कायम राखेरै जाने सहमति भएको श्रेष्ठले बताए ।
माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलहरूलाई जोड्ने विषयले मूर्त रुप भने लिई नसकेको उनको भनाइ छ । ‘हामी पाँच जना भेटेर पछिल्लो परिस्थितिको समीक्षा र छलफल भयो । नेपालको राष्ट्रियताको अवस्था, त्यसमा देखा परेका समस्याहरु, देशको कम्युनिस्ट आन्दोलनका समस्याका विषयमा छलफल गरियो,’ रातोपाटीसँग श्रेष्ठले भने, ‘संविधान र समाजवादको प्रश्न, काँग्रेस र गठबन्धनका बारेमा विभिन्न कोणबाट छलफल गरियो । राष्ट्रियताको प्रश्नमा कतिपय विषय सच्याउन सफल भए पनि अझै राष्ट्रियतामा गम्भीर संकट नै छ । त्यसबाट देशलाई बचाउनु पर्ने छ ।’
नेपालका कम्युनिस्ट आन्दोलन कमजोर भएर गइरहेको अवस्थामा कसरी सुदृढ र एकतावद्ध गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको श्रेष्ठले बताए ।
यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले निश्चित एजेण्डामा छलफल भइरहेकाले तत्काल माओवादी र एकीकृत समाजवादी जोडिन गाह्रो हुने बताए । तर, नेताहरु छलफल गर्दै गए माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत शक्तिहरूबीच सहकार्य गर्ने वातावरण बन्न पनि सक्ने उनले बताए।
बहुमत सचिवालय सदस्यको बैठकको औचित्य
सर्वोच्चको फैसलापछि माधव नेपाल एमालेमै फर्किएर संघर्ष गर्ने निर्णय गरेपछि सबैभन्दा बढी चेपुवामा परे । अन्त्यमा उनलाई साथ दिएका घनश्याम भुसालसहित १० स्थायी समिति सदस्य एमालेमै बस्ने निर्णय गरे । तर माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष एमालेमा फर्किन नसकिने भन्दै नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेर अघि बढे ।
यता, प्रचण्डले भने आफ्नो पुरानै माओवादी टीम लिएर अघि बढे । वामदेव गौतम कतै नगई नेकपा एकता राष्ट्रिय अभियान अघि बढाए ।
काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनाएर शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो । गत वैशाख ३० गतेको स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन बनाएरै यी पाँच दल चुनावमा होमिए । परिणामस्वरुप एमालेको आकार खुम्चियो ।
अब हुने प्रदेश र संघको चुनावमा पनि यो गठबन्धन कायम राख्ने नेताहरुको भनाइ छ । यद्यपि चुनावी तालमेलका विषयमा ठोस निर्णय भइसकेको छैन । तर, एमालेलाई तर्साउन र काँग्रेससँग बार्गेनिङ पावर बढाउन साविकको नेकपाका बहुमत सचिवालय सदस्य एकजुट भएका छन् ।
तत्कालीन नेकपा जोड्ने प्रयासमा गौतम
तत्कालीन नेकपालाई जोड्न सबैभन्दा बढी नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले दौडधूप गरेका छन् । गौतम नेतृत्वको अभियानले तत्कालीन नेकपा जोड्न प्रयास गर्ने निर्णय गरेसँगै शीर्ष नेताहरुसँग भेटघाटसमेत गरेका छन् । गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर एकता गर्न दबाब दिएका थिए ।
गौतमको प्रस्तावमा ओली मौन भए भने नेपाल र प्रचण्डले सकारात्मक रुपमा लिए । प्रचण्ड र माधवले गौतमको पहललाई सकारात्मक लिने निर्णय भए लगत्तै तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यको बैठक ललितपुरका हात्तीवनमा बसेको थियो । सोही बैठकका आधारमा माओवादी र एकीकृत समाजवादीले एकताका लागि छलफल र बहस गर्दै जाने सहमति गरेका हुन् ।