
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो १ सय दिनको काम सार्वजनिक गरेकी छन् । डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा १ सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ ।
पुराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र ५१ वटा विवादको किनारा लगाएको उनले सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख छ । वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९र८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयारलाई पनि उनले उल्लेख गरेकी छिन् ।
सय दिनको काममा उनले सय दिनमा सय बढी कार्यक्रममा महानगरवासी सँगसँगै रहेको र महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको उल्लेख गर्दै त्यसले काठमाडौंवासी सँगसँगै रहेर महानगरका समस्याका बारेमा साक्षात्कार हुने अवसर प्राप्त भएको बताइन् । उनले फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु गरेको कुरालाई पनि श्वेतपत्रमा उल्लेख गरेकी छन् ।
डंगोलले मैले गरेको, मेरा कारणले भएको र म भएकाले मात्रै भएको हो भन्ने आत्मकेन्द्रित चिन्तनबाट प्रेरित भई आत्मपरक हुने कुरामा आफू विश्वास नगर्ने भन्दै काठमाडौँ महानगरपालिकाको विकास र समृद्धि सबैको साझा सपना हुनुपर्नेमा जोड दिएकी छन् ।
उनले आफू नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेर उपप्रमुख पदमा निर्वाचित भए पनि साझा जनप्रतिनिधिको हैसियतमा काम गर्ने प्रण गरेकी छन् । उनले जस-अपजसका सबै जिम्मेवारी सामूहिक रुपमा लिनुपर्नेमा पनि जोड दिइन् । त्यसैगरी उनले बजेट, नीति तथा कार्यक्रममा पनि काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने उदेश्यलाई समावेश गरिएको उल्लेख गरेकी छिन् ।
त्यसैगरी मेलमिलापकर्ता छनौट प्रक्रिया, मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयास, शिक्षा क्षेत्रमा गरेका सुधारका प्रयास, इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न गरेका पहल, नेपालभाषाको डिजिटल शव्दकोष निर्माण कार्य, सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता जस्ता कुरालाई पनि १ सय दिनमा गरेका कामको विवरणमा उल्लेख गरेकी छन् । राजश्व परामर्श समितिको गठन र कार्यान्वयन, पारस्परिक र कूटनीतिक सम्बन्ध विस्तार, सहरी व्यवस्थापनमा गरेका प्रयासलाई पनि उनले पत्रमा उल्लेख गरेकी छन् ।
उल्लेखित कार्यहरु १ सय दिन भित्रै सम्पन गरिएका, थालनी भएका संक्षिप्त विषयहरु मात्रै भएको भन्दै यस बाहेक पनि अनगिन्ती विषयहरुमा उपप्रमुखको हैसियतले सम्पादन गर्न सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुनसक्ने बताइन् । आगामी दिनमा सबै तहका सरकार, नागरिक समाज, निजी क्षेत्र र महानगरवासीको प्रत्यक्ष वा अप्रत्यक्ष समन्वयमा कार्य हुने कुरामा विश्वस्त र प्रतिवद्ध रहने पनि उल्लेख गरिन् ।