प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली चितवन जाँदै

चितवन । दुई शीर्ष नेता आज चितवन जाँदै छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी ओली आज चितवन जान  लागेका हुन् ।

कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथमा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन जान लागेका हुन् । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा मध्यान्ह करिब १२ बजे सहभागी हुने छन् ।

आम निर्वाचनको घोषणापछि प्रधानमन्त्री देउवा पहिलो पटक चितवन जान लागेका हुन् । यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदै छ।

एमाले अध्यक्ष ओली भने मातृ शोकमा रहेका एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादललाई भेट्न चितवन जान लागेका हुन् । बादलकी आमाको निधन भएको आज छ दिन पुगेको छ ।

भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित बादल निवासमा ओली र बादलबीच करिब एक घण्टा भेटघाट हुने एमाले नेतृ पार्वती रावलले जानकारी दिएकी छन् । ओलीको कुनै औपचारिक कार्यक्रम नरहेको उनले बताइन् । ओली १०ः५५ बजेको समयमा भरतपुर विमानस्थलमा आइपुग्ने उनको भनाइ छ ।