पार्टीले मन्त्री नबनाएपछि पूर्वसांसद महतले भने, ‘अब चुनाव लड्दिन’

काठमाडौं । पार्टीले मन्त्री नबनाएपछि नेकपा (माओवादी केन्द्र)का पूर्वसांसद गजेन्द्र महतले अब आफू निर्वाचन नलड्ने घोषणा गरेका छन्। माओवादी केन्द्रका जुम्ला इन्चार्ज महतले आफू यसपटकको निर्वाचनमा उम्मेदवार नबन्ने बताएको हो।

उनले आफूलाई पार्टीले मन्त्री नबनाउने र सांसद मात्र भएर जनताको काम गर्न नसकिने भएको कारण आफू अब सांसद मात्र बन्नको लागि चुनाव नलड्ने बताएको हो। उनले यसपटक अर्को साथीलाई सहयोग गर्ने बताएका छन् ।

सत्ता गठबन्धनबाट जुम्लामा माओवादीले नै टिकट पाउने पक्का जस्तै भएको छ। महत माओवादी जुम्लाको जिल्ला इन्चार्ज पनि हुन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जुम्ला माओवादीकै भागमा पर्छ या कांग्रेसलाई पर्छ भन्ने टुंगो लागिसकेको छैन। २०७४ को निर्वाचनमा यो क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादीका गजेन्द्र महत विजयी भएका थिए।