सशस्त्रलाई सेनाको साथ चाहिए निर्धक्क रूपमा भन्न प्रधान सेनापतिको आग्रह

दार्चुला : प्रधान सेनापति पूर्णचन्द्र थापाले सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीलाई ढुक्क भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।

बुधबार प्रधाननसेनापती थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल भारतद्वारा अतिक्रमित भूमि दार्चुलाको कालापानी क्षेत्र पुगेर निरीक्षण गरेका छन् ।

बिज्ञापन

त्यसक्रममा प्रधानसेनापति थापाले त्यहाँ सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीलाई ढुक्क भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए । उनले सीमा सुरक्षार्थ खटिएको फौजलाई कुनै पनि किसिमको असहज परिस्थिति र अभाव हुन नदिने पनि बताए ।

प्रधानसेनापति थापा र आईजीपी खनालले छाङरुको बीओपीमा त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।

आईजीपी खनालले सीमा रक्षक र नागरिकको भरोसा एवं अभिभावक भएर काम गर्न बीओपीमा तैनाथ अधिकृत तथा जवानलाई निर्देशन दिएका थिए ।

सेनापति थापाले एकले अर्कोलाई परेको अवस्थामा सहयोग गर्नुपर्ने भन्दै सशस्त्रलाई साथ चाहिए निर्धक्क रूपमा भन्न पनि आग्रह गरे ।

सरकारले भारतद्वारा अतिक्रमित कालापानी–लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेका बेला बुधबार प्रधान सेनापति थापा र सशस्त्रका आईजीपी खनाल दार्चुलाको छाङरु पुगेका हुन् ।

भारतले नेपाली भूमि गुञ्जी, कालापानी हुँदै लिपुलेक भञ्ज्याङसम्म सडकको ट्रयाक खोली वैशाख २६ गते उद्घाटन गरेको थियो । त्यही विषयलाई नेपालले भारतलाई विरोधपत्र पठाउनुका साथै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरिसकेको छ ।

सरकारले दार्चुलाको ब्यास गाउँपालिका–१, छाङरु (गागा) मा वैशाख ३१ गते सीमा सुरक्षार्थ निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिसकेको छ । कालापानीबाट सशस्त्रको बीओपी स्थापना गरिएको छाङरु १६ किलोमिटर वर पर्छ ।