
अहिले देशमा सम्पूर्ण खेलकुद गतिविधि कोरोनाका कारण स्थगित छन्। युरोपका केही देशले कडा स्वास्थ्य सुरक्षा सावधानीका साथमा प्रतियोगिताहरु बन्द रंगशालामा गरिरहेका छन्। तर नेपालमा अझै खेलाडी कहिले मैदान फर्कने अन्योल नै छ। तर मैदान बाहिरको खेल भने जारी छ।
विशेष गरेर अखिल नेपाल फुटबल संघ (एन्फा) मा चलिरहेको विवाद भने फुटबलको भविष्यका लागि सुखद छैन। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा आफैं अहिले आफ्नो आलोचना गर्नेविरुद्ध कारबाहीको डन्डा देखाएर बलियो हुने प्रयासमा छन्।
गणेश थापाले फुटबल बिगारेको र अराजकता गरेको भन्दै परिर्वतनको नारा लिएर एन्फा प्रवेश गरेका शेर्पा दुई वर्ष नबित्दै एकपछि अर्को विवादमा तानिएका छन्। उनले आफ्नै सहयात्रीलाई एकपछि अर्को गर्दै पाखा लगाइरहेका छन्। आफ्नो भनाइ अनुसरण गर्नेहरुलाई काखी च्यापिरहेका छन्। वरिष्ठ उपाध्यक्ष तथा आफूले जित्दाका एक महत्वपुर्ण सहयात्रि पंकजविक्रम नेम्बाङलाई वाइपासमात्रै गरेका छैनन् उनलाई भूमिकाविहीन बनाएका छन्। त्यस्तै सदस्य दावा लामालाई पनि उनले आफ्नो तारो बनाएका छन्।
फरक मत राखेकै कारण उनले व्यक्तिलाई मात्र होइन जिल्ला संघहरु नै विघटनको निर्णय लिनसम्म पछि परेका छैनन्। २२ वैशाख २०७५ मा अध्यक्ष निर्वाचित भएपछि पहिलो पटक अध्यक्षको राजीनामा माग्नेदेखि वरिष्ठ उपाध्यक्षलाई स्पष्टीकरण सोध्नुपर्ने मागसम्म उठ्यो।
वरिष्ठ उपाध्यक्ष नेम्बाङ र दावा लामाले १९ जेठमा भएको भर्चुअल बैठकमा अध्यक्षको आलोचना गर्दै राजीनामा दिनुपर्ने मत राखेका थिए। त्यसको दुई साता नबित्दै दुबैको जिम्मेवारी खोसेर आफूविरुद्ध लाग्नेको अवस्थाबारे सबैलाई सचेत हुन घुमाउरो पाराले जवाफ दिए।
अध्यक्ष शेर्पाको कार्यशैलीको सुरुबाटै विरोध गरेका तथा एन्फामा अनियमितता भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न निकायमा अध्यक्षविरुद्ध उजुरी दिएको भन्दै भक्तपुर जिल्ला फुटबल संघलाई विघटन गर्ने निर्णय पनि शेर्पाले गरे।
शेर्पाले वरिष्ठ उपाध्यक्षलाई पदपूर्ति समिति र जिल्ला समन्वय समितिको संयोजक र लामालाई फुटबल कमिटीको संयोजकबाट हटाउँदा उनीहरुलाई कुनै जानकारी नै दिएनन्। सदस्य लामा भन्छन्, ‘अध्यक्षको स्वेच्छाचारिताको हद नाग्दै गएको छ। हामीलाई हटाएको जानकारी मिडियामार्पत थाहा पायौं। आफू नियमसंगत तरिकाले नचल्ने र गल्ती औंल्याउँदा हटाउने तरिका निरंकुश हो।’ उनले अध्यक्षका कारण फुटबल विकासमा दिएको सामूहिक प्रतिबद्धता कमजोर भएको बताए। अध्यक्षको स्वार्थका कारण एन्फाका धेरै गतिविधिहरु प्रभावित हुँदै छन्।
यसअघि पनि अनुशासन कमिटीबाट विजय मानन्धरलाई अध्यक्ष शेर्पाले निष्क्रिय पारेका थिए। त्यस्तै नवीन पाण्डे, धीरेन चेम्जोङ, वद्री भट्राई लगायतलाई पनि उनले पाखा लगाए। केही समय अघि अध्यक्षसँग विवाद भएपछि मानार्थ अध्यक्षले पनि एन्फा छाडेका थिए। तर उनलाई केही दिनअघि पुनः फिर्ता ल्याइएको छ।
एन्फामा निरन्तर विवादको श्रृंखला चलिरहँदा अध्यक्ष निकटहरुले भने फुटबलमा भाँजो हाल्नेहरुलाई संस्थागत निर्णयकै आधारमा अरुलाई जिम्मेवारी दिएको दाबी गर्दै आएका छन्। फुटबल संघलाई कुनै एक व्यक्तिको कुन्ठाका आधारमा चल्न नदिने भन्दै उनीहरुले संस्थागत निर्णय गरेको दाबी गर्दै आएका छन्। तर अबका दिनमा पनि अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सहज भने हुने छैन।