
काठमाडौं, १७ भदौ । पाकिस्तानले घरेलु टोली इङ्ल्याण्डविरुद्धको टि–ट्वान्टी क्रिकेटमा सिरिज बराबरी गरेको छ ।

अन्तिम टी–ट्वान्टी पाकिस्तानले इङ्ल्याण्डमाथि ५ रनको रोमाञ्चक जित निकाल्दै सिरिजमा एक–एकको बराबरी गर्न सफल भएको हो । १ सय ९१ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ८ विकेट गुमाएर १ सय ८५ रन मात्र बनाउन सक्यो ।



मोइन अलीले ६१ रन बनाएको इनिङ्समा टम बेन्टनले ४६, साम बिलिङ्सले २६, लुइस ग्रेगरीले १२ तथा इयान मोर्गानले १९ रन मात्र जोड्न सके । यता, पाकिस्तानका शाहीन शाह अफरिदी र वाहब रियाजले समान २–२ विकेट लिए । त्यस्तै इमाद वासिम र हरिस रौफले १–१ विकेट हात पारे । यसअघि, म्यान्चेष्टरमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पाकिस्तानले ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।

मोहमद हाजिफले अविजित ८६ रन बनाएको इनिङ्समा हैदर अलीले ५४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान बाबर आजमले २१, फखर जमान १, सादब खान १५ र इमाद वासिम ६ रनमा अविजित रहे । पाकिस्तानको जितसंगै तीन म्याचको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको हो । यसअघि पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेलमा इंग्ल्याण्ड विजयी भएको थियो ।