
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनका लागि तोकिएको पार्टीको १४औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ ।

यसअघि दुईपटक केन्द्रीय महाधिवेशनको मिति यथावत् राख्दै तल्ला तहका अधिवेशनको मिति परिवर्तन गरेको कांग्रेसले सुरु कार्यतालिका नै प्रभावित भएपछि महाधिवेशनको पूर्वनिर्धारित मिति नै सार्ने तयारी गरेको हो ।



तर वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना महामारीकै बीचमा पनि १४ औं महाधिवेशन गर्न सकिने गरी तीन वटा विकल्प अगाडि सारेका छन्।

यदि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न नसकिएको खण्डमा पुरानै क्रियाशील सदस्यताबाट नयाँ अधिवेशन गर्न सकिने पौडेलको भनाइ छ।
२०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा चार लाख ८० हजार क्रियाशील सदस्य थिए। उनै क्रियाशील सदस्यबाट वडादेखि केन्द्रसम्म महाधिवेशन गराउन सकिने पौडेलको भनाइ छ।
कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने कार्यतालिका निकालेको थियो। जसअनुसार साउन मसान्तभित्र ७७ जिल्लामै नयाँ सदस्यता र नवीकरण वितरण गरिसक्ने कार्यतालिका थियो। तर आठ जिल्लामा समायोजनका काम नै सकिएको छैन। ती जिल्लामा क्रियाशील सदस्यता फारम पनि पुगेका छैनन्।
पौडेलले अहिले कोरोना संक्रमित वृद्धि भइरहेकाले केहि दिन पर्खेर क्रियाशील सदस्यता वितरणका काम सक्नुपर्ने बताए । उनले पहिलो विकल्पका रूपमा कात्तिकसम्म नयाँ क्रियाशील सदस्यताको काम सक्नुपर्ने बताए ।
दोस्रो विकल्पका रूपमा पौडेलले यदि कोरोना संक्रमित बढिरहे भने १३ औं महाधिवेशनका क्रियाशील सदस्यबाट वडादेखिका अधिवेशन गर्न सकिने बताए । तेस्रो विकल्पका रूपमा पौडेलले १३ औं महाधिवेशनकै महाधिवेशन प्रतिनिधिबाट केन्द्रीय महाधिवेशन गर्न सकिने पनि बताए।
‘महाधिवेशन प्रतिनिधि अहिले छँदैछन्। उनीहरू नयाँ महाधिवेशन नभएसम्म क्रियाशील नै रहन्छन्। त्यसकारण पुरानै महाधिवेशन प्रतिनिधिबाट पनि नेतृत्व चयन गर्न सकिन्छ,’ उनले भने, ‘महाधिवेशन जसरी पनि गराउने इच्छाशक्ति हुने हो भने विकल्प छन्।’
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले बुधबार आयोजना गरेको गण्डकी प्रदेशस्तरीय नेतारकार्यकर्ता भर्चुअल अन्तर्क्रियामा बोल्दै पौडेलले फागुन ७ देखि नै महाधिवेशन गर्नुपर्नेमा जोड दिए।
‘यस्तै समस्या देखा पर्ला भनेर मैले तीन वर्ष अघि नै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर जाऔं भनेको थिएँ,’ उनले भने, ‘महासमिति बैठकमा पनि यो एजेन्डा प्रस्तुत गरेको हुँ। त्यसबेला साथीहरूले ध्यान दिनुभएन। हेर्नुस् को रहेछ दुरदर्शी अहिले थाहा भयो नि ।’
आफूले प्रस्ताव गरेका बेला महाधिवेशन कार्यतालिका बनाएको भए यतिञ्जेलसम्म क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सकिइसकेको हुने उनले बताए।
उनले पार्टी अधिवेशनमा ढिलाइ भए स्थानीय तह निर्वाचन तयारीमा धक्का पुग्ने र पार्टीका उम्मेदवार फेर पनि पराजित हुन सक्ने अवस्था सिर्जना हुने बताए।
‘समयमै अधिवेशन सके पो मुखमा आएको स्थानीय तह निर्वाचनमा विजय हासिल गर्न सकिन्छ। अरू चुनाव सामना गर्न सकिन्छ,’ उनले भने, ‘अधिवेशन फागुनबाट सार्नु आत्मघात हुन्छ। अधिवेशन जसरी पनि फागुनमै गर्नुपर्छ।’
कांग्रेस विधानअनुसार केन्द्रदेखि बुथ तहसम्म आठ तह छन् । कांग्रेसले ६ हजार ७ सय ४३ स्थानीय तहका वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्नेछ ।