प्रदेश एक : आजको प्रदेश सभा बैठक पनि अन्योल

प्रदेश एकको प्रदेश सभा बैठक आज (आइतबार) बोलाइएको छ । दिउँसो बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले दर्ता गराएको अविश्वासको प्रस्तावबाहेक कुनै विजनेश छैन ।

तर सत्तापक्ष नेकपाको ओली समूह भने मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न नदिने रणनीतिमा छ । यसअघि ओली समुहको अवरोधका कारण अविश्वास प्रस्ताव दर्ता हुने सकेको छैन ।

बिज्ञापन

मुख्यमन्त्री राईले भने अविश्वासको प्रस्ताव जबरजस्ती अघि बढाए प्रदेशसभा भंग गर्ने चेतावनी दिएका छन्, भने आफूहरुले कारबाही गरेको प्रचण्ड–माधव समूहका सांसदलाई बैठकमा प्रवेश गर्नै नदिनुपर्ने माग पनि ओली समूहको छ । यता प्रचण्ड–माधव समूहले भने निर्वाद रुपमा बैठक चल्नुपर्ने र अविश्वासको प्रस्तावमाथि सदनमा छलफल हुनुपर्ने माग गरिरहेको छ ।

सत्तारुढ नेकपाकै दुई समूहबीच सहमित नजुट्दा आजको प्रदेशसभा बैठक पनि अन्योलमा परेको छ । गत माघ २५ गते ओली समुहका सांसदहरूले विरोध जनाएपछि कार्यसूचीमा प्रवेशै नगरी बैठक स्थगित भएको थियो ।

नेकपाका प्रचण्ड–माधव समुहका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । विपक्षी कांग्रेसले अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा उभिने भन्नेमा अहिलेसम्म ठोस निर्णय लिएको छैन ।

९३ सदस्यीय प्रदेशसभामा नेकपाको दुवै समुह गरि ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका–एक एक जना सांसद छन् । प्रदेश सभामा कांग्रेस निर्णायक शक्तिको रुपमा उभिएको छ ।