
एजेन्सी । लगातार दाेस्राे जित निकाल्दै साविक विजेता चिली कोपा अमेरिका २०१९ काे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । नेपाली समय अनुसार शनिबार बिहान भएकाे समूह ‘सी’ को दोस्रो खेलमा इक्वेडरलाई २-१ ले पराजित गर्दै प्रतियाेगिताकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे ।




चिलीकाे जितमा रिबाउन्डमा जोसे फुएनजालिडा र एलेक्सिस सान्चेजले गाेल गरे । इक्वेडरकाे एनर भ्यालेन्सिया एक गाेल फर्काए ।

खेल शुरू भएकाे आठौं मिनेटमा नै चिलीले अग्रता लिएको थियो । फुएनजालिडाले १२ गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा इक्वेडरले पेनाल्टीमार्फत खेल बराबरीमा ल्यायो । चिलीका आरियासले मेन्डेजलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा एनर भ्यालेन्सियाले गोल गरेकाे थियाे ।
पहिलाे हाफमा बाराबरी खेलकाे चिलीले दाेस्राे हाफमा एक गाेल थप्याे । ५१ औं मिनेटमा सान्चेजले गाेल गर्दै चिलीलाई अग्रता दिलाए । उनले चार्ल्स आरान्गिजको पासमा गाेल गरे ।
खेलको ८९ औं मिनेटमा इक्वेडर १० खेलाडीमा सिमित भयो । ग्याब्रिएल एकिलिएरले चिलीका मिडफिल्डर आर्टुरो भिडाललाई कुइनोले मुखमा हानेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।
यस जितसँगै चिली २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो स्थानमा रहेको उरुग्वेले २ खेलमा ४ अंक जोडेको छ । जापानको १ अंक छ भने इक्वेडर अंकविहिन छ ।