एमालेले मदननगरमा अत्याधुनिक पार्टी कार्यालय बनाउने

नेकपा (एमाले) ले पुरानो कार्यालय मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने भएको छ । विसं २०७२ को भूकम्पका कारणले भत्किएको एमालेको मुख्यालय सोही ठाउँमा पुनः बनाउन थालिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको १२ औँ केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस आगामी वैशाख ९ गतेका दिन केन्द्रीय कार्यालय रहेको स्थल बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

विसं २०५३ मा निर्माण गरिएको एमालेको पार्टी मुख्यालय भूकम्पले क्षति भएपछि धुम्रबराहीमा सारिएको थियो । एमालेका कार्यलय सचिव ईश्वरी रिजालले पार्टीको आवश्यकताअनुसार भवन अत्याधुनिक बनाइने बताए । पुराना कार्यालयका करिब १३ रोपनी जग्गा पार्टीको नाममा छ ।

उनका अनुसार शिलान्यासको तयारी जिम्मेवारी विष्णु रिमाललाई दिइएको छ । यस्तै बैठकले १०औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णयसमेत गरेको छ ।अहिले रहेका २६४ सदस्यीय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको निर्णयसमेत गरेको छ ।