
काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी ओली ‘अलमल’ मा परेका छन्।




सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्ने जनगुनासोमा ‘करिब सहमत’ देखिएका प्रधानमन्त्री ओली कार्यसम्पादन कसरी प्रभावकारी बनाउने भन्नेमा छलफलमा जुटेको बालुवाटार स्रोतले बतायो।

केही समययता प्रधानमन्त्री ओली सरकार पुनर्गठनकोे तयारीमा छन्। तर, उनी पुनर्गठन के आधारमा कसरी गर्ने भन्नेमा टुंगोमा पुगिसकेका छैनन्।
उनकै सचिवालयका एक सदस्यका अनुसार यसका लागि प्रधानमन्त्री ओली आफूनिकट नेतासँग आन्तरिक परामर्शमा छन्। ‘प्रधानमन्त्री टुंगोमा पुगिसक्नुभएको त छैन,’ ती सदस्यले भने, ‘तर प्रधानमन्त्रीले तीन विकल्पमा छलफल थाल्नुभएको छ।’
प्रधानमन्त्रीले मन्त्रिमण्डलमा रहेर प्रभावकारी काम देखाउन नसकेका मन्त्रीलाई बिदाइ गरी तिनका ठाउँमा नयाँ नियुक्त गर्ने विकल्पमा छलफल चलाएका छन्। यस्तै सबै मन्त्रीलाई एकमुष्ट बिदाइ गरेर पूरै नयाँ टिम लिई अगाडि बढ्ने उनको दोस्रो विकल्प छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा मात्र नियुक्ति गरी अरू अहिलेकै मन्त्रीबाटै चलाउने विकल्पमा पनि उनले निकटस्थहरूसँग परामर्श गरिरहेका छन्।
प्रधानमन्त्री ओलीले यी विकल्पबारे अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरिसकेका छन्। दाहालले तेस्रो विकल्पभन्दा पहिलो र दोस्रो विकल्पमध्ये जुन रोजे पनि स्वेच्छिक निर्णय लिन ओलीलाई सुझाएका छन्।
‘मन्त्रिमण्डल पुनर्गठनका विषयमा प्रधानमन्त्रीसँग छलफल भएको छ। छिट्टै पुनर्गठन हुन्छ,’ दाहालले गत साता पोखरा पुगेर भनेका थिए, ‘तर यो प्रधानमन्त्रीको अधिकार क्षेत्रको विषय हो। उहाँ (प्रधानमन्त्री) आफूलाई सहज हुने गरी निर्णयमा पुग्नुहुन्छ।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले लेखेका हुन्।
ओली तीनमध्ये कुनै विकल्पमा पनि टुंगोमा पुगिसकेका छैनन्। तर उनी दुवै सदनबाट बजेट पारित भएलगत्तै मन्त्रिमण्डलमा हेरफेर गर्ने तयारीमा रहेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए।